९ फागुन, जनकपुरधाम। राष्ट्र मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीले जनहित, क्षेत्रीय विकास र सुशासनलाई केन्द्रमा राख्दै ती प्रतिबद्धतामा लिखित सहमति जनाउने उम्मेदवार वा राजनीतिक दललाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ।
पार्टीद्वारा जारी विशेष निर्वाचन सम्बोधन तथा समर्थन घोषणा–पत्रमा राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि जीवन बलिदान गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थालाई शहीदहरूको त्यागको उपलब्धि भएको उल्लेख गरिएको छ। साथै, मधेशी, आदिवासी–जनजाति, दलित, मुस्लिम समुदाय तथा महिला र युवाको पहिचान र सम्मानलाई सुनिश्चित गर्दै समावेशी विकासमा जोड दिइएको छ।
स्वास्थ्य, शिक्षा र पूर्वाधारमा विशेष प्राथमिकता
पार्टीले नगराइन नगरपालिका–जटहीमा शहीद दुर्गानन्द झा स्मृति अस्पताल (१०० शैया), प्रादेशिक बाल अस्पताल र प्रसूति गृह निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग अघि सारेको छ। त्यस्तै, फुलगामाको मनिहारीमा प्रस्तावित राजर्षि विश्वविद्यालयको निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।
पूर्वाधार विकासतर्फ जानकी चक्रपथ निर्माण सम्पन्न गर्ने, जटही भन्सारलाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहको रूपमा विकास गर्ने तथा जनकपुर विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
पर्यटन, संस्कृति र रोजगारीमा जोड
पर्यटन प्रवर्द्धनका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, धार्मिक पोखरीहरूको सौन्दर्यकरण गर्ने तथा जनकपुरधामलाई सफा र नमुना सहरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। साथै, जनकपुर र अयोध्याबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।
रोजगारी सिर्जनातर्फ ग्रामीण उद्योग ग्राम स्थापना गरी कम्तीमा ५०० जनालाई प्रत्यक्ष रोजगारी दिने, महिला उद्यम कोष स्थापना गर्ने तथा युवाहरूका लागि स्टार्टअप अनुदानको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
सुशासन र सामाजिक न्यायका एजेन्डा
घोषणा–पत्रमा भ्रष्टाचारमुक्त प्रशासन, दलित समुदायका लागि नमुना आवास कार्यक्रम, तिरहुतिया गाछीलाई बोटानिकल गार्डनका रूपमा विकास गर्ने तथा बेपत्ता पारिएका डा. लक्ष्मी नारायण झाको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि समावेश गरिएको छ।
पार्टीले यी एजेन्डा धनुषा–३ को समृद्धि, मधेशको सम्मान र नागरिकको जीवनस्तर सुधारका लागि अपरिहार्य रहेको उल्लेख गर्दै ती प्रतिबद्धतामा लिखित सहमति जनाउने उम्मेदवारलाई पूर्ण समर्थन गर्ने जनाएको छ।
पार्टीले “शहीदको सपना, हाम्रो अठोट समृद्ध क्षेत्र र सम्मानित नागरिक” भन्ने नारासहित क्षेत्रीय विकास र सुशासनका मुद्दामा केन्द्रित रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

















