निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रधानमन्त्री सुशीला कार्कीको सुरक्षा निकायलाई निर्देशन

९ फागुन, काठमाडौं । प्रधानमन्त्री  सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।
लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सुरक्षा अधिकारीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान अवस्थामा सरकारको मुख्य प्राथमिकता नै शान्तिपूर्ण निर्वाचन गराउनु रहेको बताउनुभयो। उहाँले भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री कार्कीले निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच विभिन्न बहानामा झडप हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिले समग्र सुरक्षा वातावरणमा असर पार्न सक्ने बताउनुभयो। उहाँले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई पूर्वतयारीसहित सक्रिय रहन आग्रह गर्नुभयो।
बैठकका क्रममा प्रधानमन्त्री कार्कीले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिनुभएको थियो। प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार भारतीय सीमासँग जोडिएको लुम्बिनी प्रदेशको करिब ५१४ किलोमिटर क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा रणनीति तयार पारिएको जानकारी प्रधानमन्त्रीलाई गराइएको थियो।
बैठकपछि प्रधानमन्त्री कार्कीले मायादेवी मन्दिरमा दर्शन गर्नुभएको थियो। त्यसपछि उहाँ काठमाडौं फर्किनुभएको बताइएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाउँदै निष्पक्ष र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सक्रियता बढाएका छन्।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more