शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

३१ भदौ, काठमाडौ ।  सरकारले धितोपत्र बजारमा सूचीकृत निकायको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा प्राकृतिक व्यक्तिले तिर्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शेयर बिक्रीमा लाग्ने अग्रिम कर घटाइएको जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको शेयर बिक्रीबाट प्राप्त लाभमा लाग्दै आएको ७.५ प्रतिशत अग्रिम कर घटाएर ३.५ प्रतिशत कायम गरिएको छ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयरको लाभमा लाग्ने अग्रिम कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत फणिन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसमेत बैठकले गरेको छ।

प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्तिसम्बन्धी रकम प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने आदेश जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more