९ फागुन , गौर। प्रेमचन्द्र झा– जिल्ला प्रशासन कार्यालय रौतहटले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेपछि अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भए पनि सदरमुकाम गौर ६ सवगढा अझै तनावग्रस्त नै रहेको छ। शनिबार बिहानैदेखि दुई समुदायबीच पुनः झडप भई दर्जनौँ निजी तथा सार्वजनिक घरमा तोडफोड र आगजनी भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुबै पक्षका २० जनालाई पक्राउ गरेको जनाएको छ।
बिहानैदेखि ढुंगा–मुढा, आगजनी र तोडफोड
गौर नगरपालिका–६ सवगढामा शुक्रबार भएको घटनाको विषयमा ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगा–मुढा सुरु भएको थियो। उग्र भीडले गौर नगरपालिकाका विभिन्न स्थानमा सर्वसाधारणका नाैवटा मोटरसाइकल र एक स्कारपियो सहित दुई वटा गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका रामहरी अधिकारी स्वयं घटनास्थल पुगेर कमाण्ड सम्हालेका थिए।
हवाई फायर र अश्रुग्यास प्रहार
झडप चर्किएपछि सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेका छन्। जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप वस्यालका अनुसार भीड तितरबितर पार्न बल प्रयोग गर्नुपरेको हो।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जितेन्द्र कुमार यादवका अनुसार भिडन्त तथा आगजनी नियन्त्रण गर्ने क्रममा जनमत पार्टीका नेता शेख जमसैदसहित २० जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
सहमतिपछि पनि भंग
यसअघि प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालको उपस्थितिमा दुवै पक्षबीच सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने तथा आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने सहमति भएको थियो। तर सहमतिपछि पनि शनिबार बिहान पुनः झडप भएसँगै स्थानीयवासी त्रसित बनेका छन्।
घटनाको पृष्ठभूमि
घटनाको पृष्ठभूमिमा सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको बताइएको छ। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको जन्तीमाथि ढुंगा प्रहार भएपछि यसअघि पनि दर्जनौँ घाइते भएका थिए।
गएरातिको झडपमा ६ जना घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तर शनिबार बिहान चार–पाँच सयको भीड पुनः जम्मा भई झडप सुरु भएपछि स्थिति फेरि नियन्त्रण बाहिर जान थालेको थियो।
कर्फ्यु जारी, सुरक्षा सतर्कता उच्च
हाल गौर क्षेत्रमा कर्फ्यु आदेश जारी नै रहेको छ। प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गर्दै अफवाहमा नलाग्न अनुरोध गरेको छ। सुरक्षा निकायले क्षेत्रलाई पूर्ण निगरानीमा राखेको र अवस्था सामान्य बनाउन सबै संयन्त्र परिचालन गरिएको जनाएको छ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकायले साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।

















