९ जेठ, काठमाडौ । काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावा (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनीसमेत दिइएको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहरको प्रभाव देखिन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो ।
विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लालाई उच्च प्रभावित क्षेत्रको सूचीमा राखेको छ । साथै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि मौसमको अवस्थाबारे नियमित अद्यावधिक लिन आग्रह गरिएको छ ।
तातो हावा तथा लुको प्रभावका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने विभागले जनाएको छ ।
विभागले अत्यधिक गर्मीको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न तथा पर्याप्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ । स्वास्थ्यमा समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
साथै मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम बुलेटिन नियमित रूपमा हेरी अद्यावधिक जानकारी लिन विभागले अनुरोध गरेको छ ।


















