आज देखि मिथिलामा माध्यमिकी परिक्रमा, हजारौं श्रद्धालु सहभागी हुने अपेक्षा

४ फागुन, जनकपुरधाम। — मिथिला क्षेत्रको प्रसिद्ध धार्मिक यात्रा ‘माध्यमिकी परिक्रमा’ यस वर्ष फागुन ४ गते आजदेखि सुरु हुने भएको छ। १५ दिनसम्म चल्ने यो परिक्रमा जनकपुरधामस्थित मिथिलाबिहारी मन्दिरबाट विधिवत् रूपमा आरम्भ भई विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्दै सम्पन्न हुने परम्परा रहेको छ।
परिक्रमा अन्तर्गत श्रद्धालुहरूले जनकपुरधाम, हनुमानगढी, कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ, पर्वता, धनुषाधाम, सटौसर, औरही, करुणा, बिसौल लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरूको दर्शन गर्नेछन्।
धार्मिक विश्वास अनुसार भगवान राम र माता सीतासँग सम्बन्धित तीर्थस्थलहरूको परिक्रमा गर्नाले पुण्य प्राप्त हुने तथा मनोकामना पूरा हुने जनविश्वास छ। परिक्रमा अवधिभर साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहने गर्दछ।
नेपाल र भारतका हजारौं सहभागी हुने श्रद्धालुहरूको सुरक्षाका लागि सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरू परिचालन गरिनेछ भने स्वास्थ्य, खानेपानी तथा आवास व्यवस्थामा समेत विशेष ध्यान दिइएको बताइएको छ।
परिक्रमा फागुन १९ गते जनकपुरधाम फर्किएसँगै ‘अन्तरगृह परिक्रमा’ सम्पन्न हुनेछ भने फागुन २० गते होली पर्व मनाइने कार्यक्रम रहेको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने माध्यमिकी परिक्रमा मिथिला क्षेत्रको प्रमुख धार्मिक परम्पराका रूपमा स्थापित रहेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more