टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति विवादित, सेनाको स्पष्टीकरण—‘नियमित सैन्य परम्परा’

४ फागुन , काठमाडौ । — काठमाडौंको टुँडिखेलमा सेना दिवसका अवसरमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति भएपछि त्यसलाई लिएर राजनीतिक वृत्तमा बहस चर्किएको छ। आम निर्वाचन नजिकिँदै गर्दा कार्यक्रमलाई दलीय कोणबाट व्याख्या गर्न थालिएपछि नेपाली सेना ले औपचारिक स्पष्टीकरण दिएको छ।
सेनाका अनुसार सेना दिवसमा मित्र राष्ट्रका सेनाका ब्यान्ड टिमले सहभागिता जनाउनु ‘आर्मी टु आर्मी’ सम्बन्धअन्तर्गतको नियमित अभ्यास हो। नेपालले पनि अन्य देशका सेना दिवस तथा औपचारिक कार्यक्रममा आफ्ना सैनिक ब्यान्ड पठाउने गरेको उल्लेख गर्दै सेनाले हालै भारत को सेना दिवसमा नेपाली ब्यान्ड सहभागी भएको उदाहरण प्रस्तुत गरेको छ।
सेनाले संयुक्त अभ्यास, औपचारिक समारोह तथा सांस्कृतिक आदान–प्रदानलाई द्विपक्षीय सैन्य सम्बन्धको सामान्य र दीर्घकालीन प्रक्रिया भएको स्पष्ट पारेको छ। यस विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग नदिन आग्रह गर्दै सेनाले विगतदेखि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको जनाएको छ।
यसैबीच, चुनावी माहोल तातिरहेका बेला उक्त कार्यक्रमलाई लिएर दलीय आरोप–प्रत्यारोप सुरु भएको छ। एक पक्षले यसलाई पश्चिमी शक्तिको प्रभावसँग जोडेर आलोचना गरिरहेको छ भने सरकार र सेना पक्षले भने परम्परागत कूटनीतिक तथा सैन्य अभ्यासकै निरन्तरता भएको दाबी गरेका छन्।
सेनाले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा को कार्यकालमा पनि यस्ता कार्यक्रम नियमित रूपमा आयोजना भएको स्मरण गराउँदै यसलाई चुनावी ‘मसला’ नबनाउन आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more