भदौ १४, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज (अगस्ट ३०) पाँच दिने औपचारिक चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्।
भ्रमणअघि उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै भ्रमणको उद्देश्य तथा तयारीबारे जानकारी गराउनुभएको थियो। प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन र क्षेत्रीय सहयोगमा नेपाललाई सक्रिय बनाउने लक्ष्यका साथ भ्रमण हुन लागेको स्पष्ट पार्नुभएको छ।
भ्रमणका क्रममा उहाँले चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म हुने उक्त भ्रमणमा प्रधानमन्त्री ओलीले द्विपक्षीय उच्चस्तरीय भेटघाट गर्ने र नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।नेपाल र चीनबीच व्यापार, पूर्वाधार, ऊर्जा तथा सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा सहकार्यलाई नयाँ आयाम दिने गरी यस भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

















