अहिले हाम्रो समाजमा पत्रकारहरूले प्रहरी र अख्तियारका जिम्मेवारी पनि पूरा गरिदिऊन् भन्ने धारणा विकास हुँदै गएको देखिन्छ । जनतामा यस्तो सोचको विकास हुनु नै राज्यका लागि लाजमर्दो कुरा हो । महोत्तरीको पूर्वाधार कार्यालयमा जस्तो जोखिमपूर्ण रिपोर्टिङ गर्नुपर्ने अवस्था आउन नदिन प्रहरी र अख्तियारले समयमै आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने थियो । तर, त्यस्तो कतै देखिएको छैन । बरु, यी निकायहरू बेथितिलाई मलजल नै गर्ने गरेको यो घटनाबाट पनि देखिन्छ ।
नेपालमा १० हजारभन्दा बढी पत्रकार छन् । के सबै पत्रकार नेताका पिछलग्गु वा चाकरीमै व्यस्त छन् त ? पक्कै होइन । मानौँ, ९० प्रतिशत पत्रकार खराब छन् भने पनि बाँकी १० प्रतिशत त इमान्दार र सक्षम पत्रकार होलान् । तर, ती १० प्रतिशत पत्रकारले दिवाकर साह वा अपिल त्रिपाठी जस्ता साहसिक रिर्पोटिङ किन गर्न सकिरहेका छैनन् ? के उनीहरू सक्षम छैनन् र ? खासमा हाम्रो देशमा पत्रकारहरू आर्थिक र भौतिक रूपमा असुरक्षित छन् । मिडिया हाउसहरूको जर्जर अवस्था र श्रमशोषण त जगजाहेर नै छ । आफू नै असुरक्षित रहेको अवस्थामा प्रहरी र अख्तियारको जिम्मेवारी पनि पत्रकारले उठाइदिनुपर्ने ? यो त हाम्रो समाजको चेतनास्तरको गम्भीर सवाल हो । वास्तविक समस्या राज्यको नियतमा छ । राज्यका निकायहरूले आफ्नो काम राम्ररी गरिदिएको भए जोखिमपूर्ण पत्रकारिताको आवश्यकता नै हुने थिएन । विदेशतिर छेउमै रकेट खसिरहँदा पनि पत्रकारहरूले जोखिमपूर्ण रिर्पोटिङ गरिरहेको हामीले देखेकै छौँ । तर, उतातिरका पत्रकारहरू भौतिक र आर्थिक रूपमा सुरक्षित हुन्छन् । यदि कुनै दुर्घटना भइहाल्यो भने पनि उनका परिवारले आर्थिक जर्जरताको सामना गर्नुपर्दैन । महोत्तरीकै कुरा गर्ने हो भने, त्यहाँको घटनापछि पूर्वाधार कार्यालयको बेथितिविरुद्ध विभिन्न दल, तिनका कार्यकर्ता र आम जनता नै किन सडकमा उत्रिन सकेनन् ? किन प्रहरी र अख्तियारलाई आफ्ना दायित्व सम्झाउन संघर्ष हुन सकेन ? कुनै व्यक्तिलाई उक्साएर उनलाई देवत्वकरण गर्ने अनि आफू घरमै बसेर भिडियो हेरेर रमाउने समाजलाई के भन्ने ?
हामीले पहिले रवि लामिछानेलाई पनि देवत्वकरण गरेका थियौँ । अहिले उनी जेलमा छन् । जबकि, कुख्यात भ्रष्ट नेताहरू पावर र पैसाको बलमा अझै बाहिर खुलेयाम हिँडिरहेका छन् । एकछिनलाई मानौँ लामिछाने निर्दोष छन् भने पनि यो राज्यले उनलाई २० वर्षसम्म जेलमा राखे उनको परिवार बाहेक अरुलाई खासै फरक पर्दैन । हाम्रो समाजले दुई–चार दिनमै उनलाई बिर्सिदिने छ । Motivational Speaker हरू भन्ने गर्छन्– ‘तिमी यो दुनियाँका लागि एउटा व्यक्ति मात्रै हौ, तर आफ्नो परिवारका लागि तिमी पूरै दुनियाँ हौ ।’ त्यसैले, कुनै व्यक्तिको पहिलो प्राथमिकता आफ्नै सुरक्षामा हुनुपर्छ, ती आर्थिक, सामाजिक र शारीरिक सुरक्षा हुन् ।
दिवाकर साह तेस्रो ग्रहबाट आएका व्यक्ति होइनन्, यही समाजका हुन् । उनको पनि परिवार छ । त्यसैले, हामीले कसैलाई नउक्साएर बरु सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारी बोध गराउनेतर्फ केन्द्रित हुनु उचित हुन्छ । ताकि, पत्रकारहरूले जोखिमरहित पत्रकारिता गर्न सकून् । दिवाकर साह र उपासना तिवारीको कुरा गर्ने हो भने दुवै मेरो चिनजानका व्यक्ति हुन् । दिवाकरजीसँग मेरो २०६६/६७ सालदेखि र उपासनाजीसँग भने ७ वर्षअघि चिनजान भएको हो । व्यक्तिगत सम्बन्धका कारण म उनीहरूको विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी गर्न असमर्थ छु । तर, दिवाकरजीको आँट र साहसलाई भने म सलाम गर्छु ।🙏 फेरि पनि भन्छु– जोखिमरहित पत्रकारिताको वातावरण बनोस् ।
यस लेखमा उल्लेख पत्रकारका ब्यक्तिगत कुरा हुन
लेखकः अजय साह शिवाली (पत्रकार)



















