जनकपुरधाम नगर परिक्रमा भित्र मांस र मदिरा निषेध नहुनु : एक धार्मिक, सांस्कृतिक र नैतिक लज्जा

 

✍️ शिवराम झा” गुड्डु” —–जनकपुरधाम — मिथिला सभ्यताको मुटु, जनक राजाको राजधानी, र माता जानकीको जन्मभूमि। यो शहर केवल नेपालकै हैन, सम्पूर्ण हिन्दु संस्कृतिको लागि अत्यन्त पवित्र तीर्थ हो। यहीं राम र सीताको विवाह भएको थियो, यहीं महर्षि याज्ञवल्क्य, शंकराचार्यजस्ता महापुरुषहरूले धर्म र दर्शनको बीजारोपण गरेका थिए।

तर आज जब हामी जनकपुरधाम नगरको वास्तविक अवस्था हेर्छौं, विशेषतः नगर परिक्रमा मार्ग वरिपरि, तब हाम्रो हृदय केवल श्रद्धा होइन, लज्जा, पीडा र ग्लानीले भरिन्छ। ती ठाउँहरू जहाँ अध्यात्मको शान्ति छाउनु पर्ने थियो, आज त्यहाँ रक्सीको गन्ध, मासुको धुवाँ र अश्लील बजारको कोलाहल छाएको छ।

जनकपुरधाम नगर परिक्रमा क्षेत्र — जुन धार्मिक दृष्टिले अत्यन्तै पवित्र मानिन्छ — त्यही स्थानमा मांस र मदिरा खुल्ला रूपमा बेच्नु, पकाउनु र उपभोग गर्न दिनु भनेको धर्म, संस्कृति र सभ्यताको सीधा अपमान हो।

जनकपुरधामको नगर परिक्रमा, विशेषतः फाल्गुण पूर्णिमामा गरिने, हजारौं भक्तजनहरूले हर्षोल्लासका साथ समर्पित भावनाले गर्छन्।
यो परिक्रमा लगभग १५ किलोमिटर लामो हुन्छ, जुन मिथिला नगरीका लाई घुम्मेर सम्पन्न गरिन्छ। यसले केवल देहको यात्रा होइन — यो मन, आत्मा र श्रद्धाको एक दिव्य यात्रा हो।

यस्तो पवित्र यात्राको मार्ग तथा नगर भित्र यहाँ सम्मकी जानकी मन्दिरको १००-२०० मि दायरा भित्र यदि मांसका पसलहरू, रक्सीका बारहरू र अभद्र भाषा, गाली–गलौज सुन्नुपर्ने अवस्था छ भने — त्यो यात्राको आध्यात्मिकता नै खण्डित हुन्छ।

हामीसँग तुलनाका लागि उदाहरणहरू छन्। हिन्दु धर्मका केन्द्रस्थलहरू अयोध्या र वृन्दावन — यी दुवै शहरहरूले परम्परा र पवित्रताको संरक्षण गर्न सफल भएका छन्।

अयोध्या

श्रीरामको जन्मभूमि।

सन् १९९० पछि अयोध्या नगरपालिका क्षेत्रभित्र मांस, मदिरा र तामसी भोजनको बिक्रीमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।

प्रशासन, धार्मिक संघसंस्था र जनप्रतिनिधिहरूले सहकार्य गर्दै ती क्षेत्रलाई ‘शुद्ध सात्त्विक क्षेत्र’ घोषणा गरेका छन्।

वृन्दावन

श्रीकृष्णको लीलास्थली।

वृन्दावन र मथुरा नगरपालिकाले मन्दिर क्षेत्रमा मांस-मदिरा निषेधका लागि कडाइ गरेका छन्।

२०१७ मा उत्तर प्रदेश सरकारले वृन्दावनलाई “पवित्र नगर” घोषणा गर्दै १० किलोमिटर परिधिभित्र मदिरा र मांस निषेध गर्यो।

के जनकपुरधाम अयोध्या वा वृन्दावनभन्दा कम पवित्र छ?पक्कै होइन। बरु धार्मिक दृष्टिकोणबाट जनकपुरधाम त राम–सीता सम्बन्धको केन्द्र बिन्दु हो — जहाँ विवाह, परिवार, नारी–मर्यादा र प्रेमका आदर्शहरू स्थापित भए। त्यसैले नगर परिक्रमा क्षेत्रमा मांस र मदिरा बिक्री हुनु, यस्तो पवित्र भूमिमा अधर्मको सहमति दिनु हो।

वर्षेनी नेपाल र भारतका करोडौं भक्तजन जनकपुरधामको दर्शनमा आउँछन्। राम–जानकी मन्दिर, परिक्रमा मार्ग, कुन्ड, कुण्डलित मन्दिरहरूसँग श्रद्धा जोडेर उनीहरू यहाँ आउँछन्। तर सहर प्रवेश गर्दा र विशेष गरी नगर परिक्रमा सुरु गर्दा ती श्रद्धा अक्सर आत्मग्लानीमा परिणत हुन्छ।

तीर्थयात्रीहरूको कथन:

> “राम–सीताको विवाहस्थलमा मांस बेचिनु, रक्सीको बोतल देखिनु, अश्लील गित बजिनु — यो देख्दा आस्था रोइरहेको हुन्छ।”

> “अयोध्या होस्, हरिद्वार होस्, वा उज्जैन — ती सबै ठाउँहरूमा तीर्थ क्षेत्रमा यस्तो पापको व्यापार सोच्नै सकिँदैन। तर जनकपुरमा सस्तो राजनीतिले धर्मलाई हराइरहेको देखिन्छ।”

यो आत्मग्लानी केवल पर्यटकको मात्र होइन — यो धर्म, संस्कार र राष्ट्रको गहिरो अपमान हो।

जनकपुर उपमहानगरपालिका, प्रदेश सरकार, पर्यटन मन्त्रालय, धार्मिक न्यास — यी सबै निकायहरूले परिक्रमा मार्गको संरक्षण र व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी बोकेका छन्। तर सत्य के छ?परिक्रमा क्षेत्रभित्र मांसको व्यापारको अनुमति दिनु प्रशासनको सीधा सहभागिता हो।नगरपालिका र प्रहरी प्रशासनले आँखामा पट्टी बाँधेर धार्मिक मान्यतालाई नजरअन्दाज गरिरहेका छन्।यो क्षेत्रलाई धार्मिक संरक्षण दिइयो भने पनि, व्यापारी र माफियाहरूको दबाबमा निर्णयहरू उल्ट्याइन्छ।

यो देखाउँछ कि धर्मभन्दा राजनीति, आस्था भन्दा भोट, र संस्कृति भन्दा सत्ता महत्वपूर्ण बनेको छ।

नगर परिक्रमा भित्र  खुलेआम मान्साहारी होटल , सडक छेउका रक्सी पसलहरू, केही स्थानहरूमा अश— यी सबै दृश्यहरू केवल “व्यापार” होइनन्, एक साँस्कृतिक पतनका प्रमाणहरू हुन्।

धार्मिक शहरमा यस्तो देखिनु भनेको:आस्था कमजोर भएको संकेत हो,संस्कृति बिर्सिएको संकेत हो,र समाज दिशाहीन भएको चेतावनी हो।

धर्म, दर्शन र संस्कृति बिना केवल सडक र संरचना भएको शहर शव हो।
जनकपुरधाम त्यो पवित्र शहर हो, जहाँ आत्मा बस्दछ — त्यो शहरलाई शवमा परिणत गर्न दिनु हुँदैन। समाधान के हो? — नीति, नागरिक र नेतृत्वको पुनर्जागरण आवश्यक: ‘जनकपुर धार्मिक संरक्षण क्षेत्र’ घोषणा गर्नुपर्ने माग:रिक्रमा मार्ग वरिपरि कम्तिमा २ किलोमिटर क्षेत्रलाई विशेष धार्मिक क्षेत्र घोषणा गर्नुपर्छ।त्यहाँ सात्त्विक भोजनबाहेकका सम्पूर्ण वस्तुहरूमा निषेध लागू गरिनुपर्छ।

मासु र मदिरा बेच्ने व्यवसायलाई परिक्रमा क्षेत्रबाहिर व्यवस्थित रूपमा सार्न सकिन्छ।मांस–मदिरा व्यवसायलाई शहरको बाहिरी घेराभित्र मात्र अनुमति दिनुपर्छ।मिथिला अध्ययन प्रतिष्ठान, जानकी न्यास, सीता संस्कार समिति जस्ता संस्थाहरूले सार्वजनिक दबाब सिर्जना गर्नुपर्छ।विद्यालय, विश्वविद्यालय र मिडियाबाट यसबारे चेतनामूलक अभियान सञ्चालन गर्न सकिन्छ।स्थायी धार्मिक समिति गठन गर्नुपर्छ जसमा नागरिक प्रतिनिधि, तीर्थयात्री संघ, मन्दिर समितिहरू समावेश गरिनुपर्छ।नगरपालिकालाई कानुनी रूपमा बाध्य पार्न नागरिक हस्ताक्षर अभियान सञ्चालन गर्न सकिन्छ।

धार्मिक नगरीमा अधर्मको व्यापार — के हामी चुप बसिरहने?जनकपुरधाम केवल एक शहर होइन — यो एक धार्मिक प्रतीक, एक सांस्कृतिक धरोहर, र एक नैतिक चेतनाको केन्द्र हो। त्यस नगरको पवित्र परिक्रमा मार्गमा यदि मासु र मदिरा पसलले घेरिएको छ भने, त्यो केवल प्रशासनको गल्ती होइन — त्यो हाम्रो मौनताको दुष्परिणाम हो।धर्मको अपमान हुँदा चुप लाग्नु — त्यो पनि अधर्म हो।
सीताको नगरीमा धर्म, मर्यादा र शुद्धताको पुनःस्थापना हामी सबैको कर्तव्य हो। जनकपुर धर्म र आस्थाको राजधानी बन्न सक्दैन?

> “अयोध्या जाग्यो, वृन्दावनले सन्देश दियो — के जनकपुर अझै सुतिरहने?”

“जनकपुरको धर्म र संस्कृति बचाउन अब नागरिक आवाज जरुरी छ।”

 

 

  • सम्बन्धित समाचारहरु

    नेपालमा निजी विद्यालयहरूको योगदान र वर्तमान बहस

    Read more

    आधुनिकता र परम्पराको संगम : बालेनको सपथ र सांस्कृतिक सन्देश

    Read more

    Leave a Reply