जनकपुरधाममा विद्युत् अनियमितताले जनजीवन प्रभावित, आन्दोलनको चेतावनी

२२ जेठ, जनकपुरधाम।शिवराम झा-   जनकपुरधाममा पछिल्लो समय बढ्दै गएको विद्युत् अनियमितताका कारण स्थानीय बासिन्दाहरू समस्यामा परेका छन्। बारम्बार विद्युत् अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य र शिक्षामा समेत नकारात्मक असर परेको स्थानीयहरूको गुनासो छ।
स्थानीय महेन्द्र साहका अनुसार रातिको समयमा लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा गर्मीका कारण सुत्न नसक्ने अवस्था सिर्जना भएको छ। उनले विद्युत् कटौतीका कारण सर्वसाधारण बिरामी पर्ने अवस्थामा पुगेको बताए।
त्यस्तै, स्थानीय नन्दलाल यादवले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै जनतामाथि करको भार थपिए पनि आधारभूत सेवा सहज रूपमा उपलब्ध हुन नसकेको आरोप लगाए। उनले विद्युत् अनियमितताका कारण विद्यार्थीहरूको पठनपाठन समेत प्रभावित भएको बताए।
“हामीले सरकारसँग धेरै अपेक्षा गरेका थियौं। तर जनतामाथि करको भार बढाइए पनि आवश्यक सेवा सुविधा पाउन सकेका छैनौं। यदि यस्तै समस्या कायम रहिरह्यो भने सरकार र नेपाल बिधुत प्राधिकरण विरुद्ध  आन्दोलनमा जान बाध्य हुनेछौं,” यादवले भने।
स्थानीयहरूले विद्युत् आपूर्ति नियमित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more