२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि नयाँदिल्ली जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकर को निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उनी मौरिसस मा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए। उक्त अवसरमा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ परिवेशअनुसार अगाडि बढाउने विषयमा छलफल गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल लगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटका लागि पनि नेपाली पक्षले अनुरोध गरेको बताइएको छ।
दिल्ली भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध विषयमा विस्तृत छलफल हुने जनाइएको छ। विशेषगरी सीमा विवाद, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा सहकार्य र पूर्वाधार विकासका विषय प्राथमिकतामा रहनेछन्। दुवै पक्षबीच पञ्चेश्वर आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलवे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान सञ्चालन तथा व्यापार सहजीकरणका विषयमा छलफल हुने तयारी छ।
त्यसैगरी पेट्रोलियम पाइपलाइन विस्तार, भारतले नेपाली चिनी निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषय तथा भारतमा नेपाली नागरिकका लागि क्यूआर भुक्तानी प्रणाली कार्यान्वयनबारे पनि वार्ता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
हालै लिपुलेक क्षेत्र हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने भारत–चीन निर्णयपछि उत्पन्न सीमा विवाद र त्यसले द्विपक्षीय सम्बन्धमा सिर्जना गरेको अविश्वास हटाउने विषय पनि भ्रमणको प्रमुख एजेन्डा रहने बताइएको छ।
परराष्ट्रमन्त्री खनालको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा देखिएका समसामयिक चुनौतीहरू समाधान गर्न तथा उच्चस्तरीय राजनीतिक संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।


















