१९ जेठ , जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका ले अनुमति नलिई सञ्चालन भइरहेका तथा स्वीकृत तहभन्दा माथि कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयमाथि अनुगमन गर्ने भएको छ ।
नगर शिक्षा समितिको जेठ १६ गतेको निर्णयअनुसार उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले पाँच सदस्यीय अनुगमन समिति गठन गरेको हो । समितिमा अधिकृत आठौं जय कुमार साह तथा नगर शिक्षा स्रोत व्यक्ति रामपुन्य झा, दीपक कुमार ठाकुर, राजेन्द्र पजियार र केदार झा रहेका छन् ।
शाखा प्रमुख अन्जु पाण्डेय द्वारा जारी पत्रमा संस्थागत विद्यालयहरूले नगर शिक्षा ऐन–२०७७ तथा संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०७९ अनुसार अनुमति लिए–नलिएको विषयमा स्थलगत अनुगमन गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी अनुमति प्राप्त विद्यालयहरूले स्वीकृत तह वा कक्षाभन्दा माथि अतिरिक्त कक्षा सञ्चालन गरे–नगरेको विषय पनि अनुगमन गरिने जनाइएको छ ।
अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएका विद्यालय तथा अतिरिक्त तह/कक्षाको विवरण संकलन गरी आवश्यक परे कानुनबमोजिम बन्द गर्न सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था नियन्त्रण, विद्यालय सञ्चालनलाई कानुनी दायराभित्र ल्याउने तथा शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले यो कदम अघि बढाएको छ ।
















