२० जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको भेटप्रति खुशी व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
रवि लामिछानेसँगको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उनलाई भेट्न पाउँदा खुशी लागेको बताएका हुन्। उनले साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिकतामा रहेको साझेदार मुलुक भएको उल्लेख गर्दै नयाँ सरकारसँग मिलेर दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन भारत इच्छुक रहेको बताएका छन्।
मोदीको भनाइलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ। भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न चरणमा भेटघाट तथा छलफल गरिरहेका छन्।















