१० जेठ, काठमाडौ । एक समय नेपालको प्रमुख सरकारी उद्योगका रूपमा परिचित जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको छ । लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योगलाई पुनर्जीवित गर्न अर्थ मन्त्रालयले सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमार्फत प्रक्रिया अघि बढाएको जनाएको छ ।
तत्कालीन राजा महेन्द्रको शासनकालमा सन् १९६४ मा स्थापना भएको जनकपुर चुरोट कारखानाले एक समय हजारौँ व्यक्तिलाई रोजगारी प्रदान गर्नुका साथै स्वदेशी उत्पादन र सरकारी राजस्व संकलनमा महत्वपूर्ण योगदान दिएको थियो ।
तर समयसँगै कमजोर व्यवस्थापन, पुरानो प्रविधि, नीतिगत अस्पष्टता तथा आर्थिक समस्याका कारण उद्योग क्रमशः धराशायी बन्दै अन्ततः बन्द हुन पुगेको थियो । उद्योग बन्द भएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि समेत प्रभावित भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययनका लागि Due Diligence Audit (DDA) प्रक्रिया सुरु गरिएको छ । अध्ययनबाट उद्योगको भौतिक अवस्था, आर्थिक सम्भावना, लगानी आवश्यकता तथा सञ्चालन मोडेलबारे विस्तृत मूल्यांकन गरिने जनाइएको छ ।
स्थानीयवासी तथा व्यवसायीहरूले उद्योग पुनः सञ्चालन भए जनकपुरधामसहित मधेश प्रदेशको आर्थिक गतिविधि चलायमान हुने, नयाँ रोजगारी सिर्जना हुने तथा औद्योगिक वातावरण विस्तार हुने अपेक्षा गरेका छन् ।
सरकारले निजी क्षेत्रको सहकार्यमा उद्योगलाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्ने लक्ष्य लिएको बताइएको छ ।
















