१० जेठ,काठमाडौ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशसहित बाँकी हिमाली भूभागमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, तराईका केही जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना पनि रहेको छ । विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा अत्यधिक गर्मी तथा लुको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले गर्मीको समयमा अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न पनि अनुरोध गरेको छ ।

















