जनकपुरमा २८ वर्षीया महिलाको संकास्पद मृत्यु, छानबिनको माग तीव्र

मंसिर १४, जनकपुरधाम।  धनुषाको जनकपुरस्थित एक महिलाको संकास्पद मृत्यु घटनाले अहिले व्यापक चर्चा र चिन्ता जन्माएको छ। नगराइन नगरपालिका–२, जटहीकी २८ वर्षीया रोशनी झा बिहीबार साँझ आफ्नै निवासमा अचेत अवस्थामा फेला परेपछि उनको निधन भएको माइती पक्षले जनाएको छ। रोशनी, पर्साही निवासी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MoFAGA) मा प्रशासन अधिकृत पदमा कार्यरत प्रशान्त कुमार मिश्रकी पत्नी हुन्। परिवारका सदस्यका अनुसार, रोशनीले साँझ ५:३० बजे आफ्नी आमासँग “पति ड्युटीबाट आउँदै गरेको र चिया बनाउनु परेकाले फोन राख्नुपरेको” बताउँदै अन्तिम पटक संवाद गरेकी थिइन्। एक घण्टापछि आमाले पुनः सम्पर्क गर्दा फोन प्रशान्त मिश्रले उठाएर रोशनी अस्वस्थ भएको जानकारी गराएको भनाइ माइती पक्षले सार्वजनिक गरेका छन्।

माइती पक्षको दाबीअनुसार, रोशनीकी आमा निवासमा पुग्दा रोशनी अचेत अवस्थामा थिइन् भने पति प्रशान्तको शरीरमा नङका दागजस्तै देखिने चिन्हहरू थिए, जसले घटनामा रक्षात्मक संघर्ष वा प्रतिरोधको संकेत हुनसक्ने आशंका बढाएको छ। तर, ससुराली पक्षले भने यसलाई “भर्याङबाट खसेर भएको दुर्घटना” का रूपमा व्याख्या गरेको छ। शव भोलिपल्ट माइती पक्षलाई देखाइँदा घाँटी वरिपरि दबाब वा थिचिएको जस्तो चिन्ह देखिएको आमा र परिवारका सदस्यले बताएका छन्, जसले दुर्घटना मात्र नभई अन्य कारण हुनसक्ने आधार बलियो बनाएको उनीहरूको भनाइ छ। यसैगरी, शवको दाहसंस्कार माइती पक्षलाई जानकारी नै नदिई हतार – हतार गरिएको भन्दै विवाद थप चर्किएको छ। परिवारले प्रमाण नष्ट गर्न हतारो देखाइएको पनि हुनसक्ने गम्भीर आरोप समेत अघि सारेका छन्।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाबाट औपचारिक विवरण नआए पनि घटनाको संवेदनशीलता हेरेर फरेन्सिक तथा प्राविधिक छानबिन हुनुपर्ने माग स्थानीय नागरिक समाज, अभियन्ता र अधिकारकर्मीले जोडदार रूपमा उठाइरहेका छन्। माइती पक्षले मृत्युलाई संकास्पद सूचिमा राखी स्वतन्त्र अनुसन्धान समिति गठन, प्रमाणहरूको संरक्षण, विस्तृत शव परीक्षण र दोषी देखिए कडा कानुनी कारबाहीको माग गरेका छन्। रोशनीको मृत्यु घटनाले महिला सुरक्षा, घरेलु हिंसा, प्रमाण संरक्षण र न्यायिक उत्तरदायित्वजस्ता विषय फेरि सतहमा ल्याएको छ। स्थानीयहरूले “सत्य दफन होइन, न्याय दफनविरुद्ध” आवाज बुलन्द पार्दै निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्न दबाब जारी राखेका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more