मंसिर १३, काठमाडौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सम्बोधन नभए नेपालमा कुनै पनि निर्वाचन हुन नदिने कडा चेतावनी दिएका छन्। शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रसाईंले सरकारको नियत स्पष्ट र सफा नभए आगामी फागुन २१ गते वा त्यस आसपास हुने भनिएको चुनाव तथा कुनै पनि राजनीतिक निकास सम्भव नहुने दाबी गरे।
पत्रकारहरूले राखेका प्रश्नको जवाफमा उनले भने, “सरकारले चाह्यो भने फागुन २१ मै चुनाव हुन्छ, नचाहे चुनावै हुँदैन। सरकारले चाहे जनमत संग्रह पनि सम्भव छ,” भन्दै निर्वाचनको भविष्य सरकारको इच्छामा निर्भर रहने अभिव्यक्ति दिए। प्रसाईंले आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भइसकेको जानकारी गराउँदै उक्त वार्ताबाट ठोस समाधान ननिस्किए आफूहरू सशक्त आन्दोलनमा उत्रने बताए। उनले व्यवस्था परिवर्तनबारे संकेत गर्दै व्यक्तिको फेरबदलले मात्र समस्या समाधान नहुने स्पष्ट गर्दै भने, “व्यक्ति परिवर्तन होइन, व्यवस्थै खराब छ, त्यही बदल्नुपर्छ,” जसले हालको राजनीतिक संरचनामाथि प्रश्न उठाएको छ। प्रसाईंको यस आक्रामक अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा नागरिक तहमा राजनीतिक बहस थप तीव्र बनेको छ भने सुरक्षा र प्रशासनिक निकायले सम्भावित आन्दोलनको अवस्थाप्रति निगरानी बढाएको छ।
प्रसाईं को धम्कीपूर्ण शैलीले वर्तमान सरकारमाथि दबाब सिर्जना गरेको छ, तर वार्ताबाट समाधान खोज्ने प्रयास दुवै पक्षका लागि उत्तम मार्ग रहने बताइन्छ। महाअभियान पक्षले आफ्नो अडान कायमै राख्दै आइतबारबाट प्रदेश र जिल्ला स्तरमा संगठन परिचालनलाई थप मजबुत बनाउने रणनीतिमा समेत छलफल थालेको छ।
















