जनकपुरधाममा लागूऔषध महामारीको नयाँ प्रमाण : गोरधोई पोखरीबाट ६ बोरा अवैध पदार्थ भेट

मंसिर १३,जनकपुरधाम। शिवराम झा” गुड्डु” ——जनकपुरधाम मिथिलाको आत्मा र मधेसको राजधानी हो—धार्मिक चेत, संस्कृतिको आस्था, उत्सवको रंग, लोककथाको आवाज, र सभ्य सामूहिकताको पहिचान। यहाँको गल्ली–चोक केवल भौतिक संरचना होइन, इतिहास बोल्ने जीवित पात्रहरू हुन्। तर हर्ष, संस्कार, र पर्यटनका अनेक सकारात्मक कथाबीच, समाजभित्र गहिरोसँग पस्दै गएको अर्को कथा पनि छ—अँध्यारो, मौन, तर विस्फोटक रूपमा फैलिएको लागूऔषध र त्यसबाट जन्मिने अपराधको कथा। मध्य २०८२ मंसिर १३ एक सार्वजनिक सरसफाइ अभियानले त्यही मौन यातना सतहमा ल्याइदियो। जब पिडारी चौक नजिक अवस्थित गोरधोई पोखरी सफा गर्ने क्रममा रेलवे लाइनतर्फको छेउका झार–बुटा काटिँदै थियो, झारभित्र लुकाइफालिएका ६ वटा ठूला बोरामा प्रयोग गरिएका लागूऔषध भेटिए, अनेक डरलाग्दा सत्यहरू उघारिए। सरसफाइ जस्तो समाज–निर्माणको अभियानले, जनकपुरभित्र नशा–व्यापार र उपभोगको जरा कति गहिरो छ भन्ने प्रमाण समाजको सामुन्ने फ्याँकिदियो, जसले अब उपेक्षित बहसलाई अनिवार्य राष्ट्रिय, प्रादेशिक र स्थानीय संवादमा रूपान्तरण गर्न बाध्य पार्छ।

यो घटना महज एउटा समाचार बन्न सक्ला, प्रहरीले जाँच सुरु गर्ला, स्थानीय सरकारले वक्तव्य निकाल्ला, राजनीतिक दलहरूले दोष–प्रत्यारोपका केही लाइनहरू बोल्लान्; तर वास्तविकता योभन्दा धेरै ठूलो छ—यो घटना ‘समाज–भित्र विष भण्डारण भएर फैलिरहेको महामारी’को संकेतक हो। यो बोरा–फालिएको लागूऔषधले जनकपुरको लोकजीवनलाई चिच्याएर प्रश्न गर्छ—“नाकामा कडाइ छ भनिन्छ, तर ड्रग कसरी छिरेर टोलशिरि लुकाएर फालिन्छ? संरक्षण कहाँबाट पाइन्छ? युवा किन बजार बनाइन्छ?”

समाजलाई प्रभावित पार्ने अपराधका धेरै रूप हुन्छन्—राजनीतिक अपराध, आर्थिक अपराध, साईबर अपराध, संगठित आपराधिक गिरोहहरूको अपराध, घरेलु हिंसा, सार्वजनिक अराजकता, सेक्सुअल अपराध, र सामाजिक विद्रोह–जन्माउने अपराध। तर यी सबै अपराधको साझा ‘इन्धन’ र ‘कच्चा पदार्थ’ अब लागूऔषध बनेको छ। किनभने लागूऔषधले केवल शरीरमा असर पार्दैन; यसले निर्णय क्षमतामा क्षय ल्याउँछ, विवेक मेटाउँछ, संयम ध्वस्त पारिदिन्छ, धैर्य खाइदिन्छ, र हिंसा–प्रतिक्रियालाई आत्मसात् गराइदिन्छ। जब कुनै पनि युवा नशाको कब्जामा पर्छ, तब अपराधका लागि उसलाई प्रशिक्षण आवश्यक पर्दैन—**उ अपराधीको ‘सम्भावित सैनिक’ र ‘सुलभ जनशक्ति’**मा स्वतः रूपान्तरण भइसक्छ।

पोखरी सफा गर्ने क्रममा भेटिएका ६ बोरा लागूऔषधले यही तथ्य फेरि पुष्टि गर्‍यो—जनकपुरमा अपराधको अधिरचना (Infrastructure) केवल आर्थिक गरिबी, शिक्षा अभाव, वा बेरोजगारी मात्र होइन; यसको सबैभन्दा विषाक्त तह भनेको ‘नशाको सामान्यीकरण र तस्करी’ हो। युवाहरूको ठूलो हिस्सा नशामा फस्नु भनेको भोलिको नेतृत्व, श्रमशक्ति, सृजनशीलता, र सांस्कृतिक उत्तराधिकारी लत–बजारद्वारा अपहरण हुनु हो, जुन मधेश मात्र होइन, सिंगो देशको भविष्य विरुद्धको युद्ध हो।

विगत १० वर्षको नेपाल–समाजको गतिको नक्सा हेर्दा, लागूऔषधको उपभोग र व्यापारको ट्रेण्ड एकै समयमा चढेको देखिन्छ। यति मात्र होइन—नशा प्रयोगकर्ताको संख्या बढ्दा अपराधी–घटनाको अनुपात पनि दुईदेखि तीन गुणामा चढेको प्रहरी–रिपोर्टहरू बारम्बार सार्वजनिक हुन्छन्; जसको विश्लेषणले भन्छ, ‘समाजको अनुसाशन हराउन थालेपछि, सबैभन्दा पहिले नशा–व्यापार सक्रिय हुन्छ र त्यसपछि नशा–सेवनकर्ताबाट अपराधी उत्पादन सुरु हुन्छ’। जहाँ–जहाँ नशा सूचारु आपूर्ति भएको पाइन्छ, ती क्षेत्रहरू—विद्यालय परिसर, सार्वजनिक पार्क, पोखरीलाईन, खुला रेलवे छेउ, राजमार्ग–किनार, र आर्थिक गतिविधि चहलपहल हुने ठाउँहरू—ड्रग–नेटवर्कको लागि ‘स्ट्रेटेजिक लोकेशन’ बन्छन्। गोरधोई पोखरी र रेलवे–छेउमा बोराभरी लागूऔषध भेटिनुले निम्न सत्यहरूको पुष्टि गर्दछ :

पहिलो—ड्रग भण्डारण, प्रयोग र डिस्पोजल अब सार्वजनिक क्षेत्रमै हुन थालेको छ, जुन ‘समाज–भित्र डर मेटिँदै गएको’ वा ‘संरक्षण बलियो भएको’ संकेत हो।
दोस्रो—तस्करी नेटवर्क स्थानीय संरचना, आर्थिक संलग्नता, र सम्भावित राजनीतिक संरक्षणसहित ‘संगठित मोडेल’मा सक्रिय छ; जुन केवल नशा नै होइन, सुरक्षा व्यवस्थामाथि निर्लज्ज चुनौती हो।
तेस्रो—नाकामा गरिएको कडाइ वास्तविक ‘डिमाण्ड–सप्लाई चेन’ तोड्न पर्याप्त छैन; ड्रग पारित भएको छ—चेकपोस्टबाट होइन, संरचनात्मक चुहावट (Systemic leakage)बाट।

नेपाल–भारत सीमा मधेशका नागरिकका लागि केवल आवागमनको ढोका होइन; यो संस्कृति, व्यापार, वैवाहिक सम्बन्ध, र रक्त–सम्बन्धका कथाहरू जोड्ने प्राकृतिक–सामाजिक पुल हो। खुला सीमाले हाम्रो समाजलाई सामाजिकरुपमा अनेक फाइदाहरू दिएको छ—व्यापार, रोजगारी, सम्बन्ध, दैनिक उपभोग्य सामानको सहज पहुँच, तथा सांस्कृतिक विनिमय। तर यसको सबैभन्दा दुरुपयोग अब भएको छ—लागूऔषध तस्करी, अवैध कारोबार, र संगठित अपराधी नेटवर्कको आपूर्ति–मार्गको रूपमा।

सीमामा प्रहरीद्वारा ‘कडाइ’का भाषणहरू नियमित सुनिन्छन्, बेला–बेलामा तस्करीका केही परिणामहरू मिडियामा छापिन्छन्, सगरमाथा, काठमाडौं, र पोखरा जस्ता ठूला सहरमा बरामदका केही ‘संख्यात्मक’ तथ्य सार्वजनिक गरिन्छन्; तर ड्रग–बजार नियन्त्रण भएको देखिँदैन किन भने :

१. सीमामा चेकपोस्ट छ, तर नदी–नाला, खुला पैदल–ट्रेल, गोप्य डिल–प्वाईन्ट, मध्य–वितरण एजेन्ट, आर्थिक लगानीकर्ता, र स्थानीय स्तरमा ड्रग डेलिभरी गर्ने नेटवर्क–‘अनचेक्ड’ छ।
२. ड्रग यथार्थमा ‘अवैध वस्तु’ मात्र छैन; यो अब ‘स्थानीय अर्थतन्त्रको लुकेको मुनाफा–सप्लाई बिजनेस’, र कमजोर नेतृत्व–पकेटको ‘संरक्षण–प्रायोजन’को खेल’ बनेको छ।
३. प्रयोगकर्ताको संख्या घट्दैन जब डिमाण्डलाई शिक्षा, चेतना, पुनर्वास, र सामाजिक सम्मान–संलग्नता मार्फत ‘डिस–इन्सेन्टिभाईज’ गरिएको हुँदैन।

विभिन्न सार्वजनिक संस्था , राजमार्ग छेउका चिया–पसल, ई–रिक्सा चालकहरूको जमघट बिन्दु, सीमा–बजार क्षेत्र, धार्मिकमहारोहमा भिडभाड हुने प्रांगण, र रेलवे छेउका सुनसान लोकेशनहरूमा ‘ड्रग–डिल’ हुने प्रसंगहरू स्थानीय समाजमा अब फुसफुसाउने होइन, खुल्ला रहस्य बनेको देखिन्छ। किशोर–किशोरीमा ड्रग–कल्चरको प्रवेश–उमेर १२–१६ वर्षको बीचमै झर्ने तथ्य अभिभावक, शिक्षक, र सामाजिक समूहहरूले बार–बार अनौपचारिक रूपमा स्वीकार्छन्, जुन अत्यन्त गम्भीर चेतावनी हो।

किनभने लडाइ लागूऔषधसँग होइन, ‘लागूऔषध–तस्करी–बजार–संरक्षण–माग’–चारैतिर घेरिएको अधिरचनासँग हो।समाजमा अर्को गम्भीर समस्या यो पनि छ कि ड्रगको विषयलाई केवल ‘नैतिक पतन’ वा ‘कानूनी मामला’ मात्र भनेर बुझ्ने परिपाटी अझै बलियो छ। किनकि ड्रग संकट अब केवल नैतिक समस्या वा कानून उल्लंघनको विषय होइन; यो प्रत्यक्ष रूपमा जोडिएको छ :

मानव–सुरक्षा (Human Security)

आर्थिक–सुरक्षा (Economic Security)

सांस्कृतिक–सुरक्षा (Cultural Security)

युवा नेतृत्व–सुरक्षा (Youth Leadership Security)

राष्ट्रिय–सुरक्षा (National Security)

जब बोराभरी नशा सार्वजनिक पोखरी–किनारमा फालिन्छ, जुन धार्मिक क्षेत्रबाट धेरै टाढा पनि छैन, र सरकारले पर्यटनलाई प्राथमिकता दिनुपर्ने सहरमै यस्तो परिदृश्य भेटिन्छ; यसले बताउँछ—तस्करी–नेटवर्क निस्फिक्री छ, प्रहरी–कडाइ भन्दा ‘संरक्षण संयन्त्र’ बलियो छ, र बजार–डिमाण्ड उनीहरूले आफैं निर्माण गरिसकेका छन्।

ड्रग–नियन्त्रणमा असफल समाजमा, प्रहरी र प्रशासन केवल ‘फायर–ब्रिगेड’ जस्तै काम गर्छन्, आगो निभाइरहेकै हुन्छन्, तर आगो लगाउने फैक्ट्री रोकिँदैन। आगो लगाउने फैक्ट्री यहि “ड्रग सप्लाई–नेटवर्क” हो। समाधान सप्लाई समातेर होइन, सप्लायर समातेर, नेटवर्क तोडेर, पैसा–लाइन फ्रिज गरेर, र प्रयोगकर्ता–डिमाण्ड घटाएर मात्र सम्भव छ।

गोरधोई पोखरी घटनाले मधेश समाजको सामाजिक मनोविज्ञानमाथि पनि गम्भीर प्रश्न खडा गर्छ। मिथिलामा पोखरी, जल–सभ्यता, र सार्वजनिक धार्मिक सौन्दर्य केवल सरसफाइको विषय होइन; यो सामाजिक–संस्कार, लोकआस्था, सामूहिक स्मृति र सभ्यता–प्रतिको सम्मानको प्रतीक हो। जहाँ सभ्यताको प्रतीक स्थलमै नशा थुपारेर फालिन्छ; त्यहाँ ड्रग केवल व्यापारको वस्तु होइन, यो बनेको छ—सामुदायिक सम्मानमाथिको धावा।

निर्लज्ज तस्करी, कमजोर सरोकार, मौन समाज, र दोष–कथामा द्वन्द्व गर्ने राजनीति—जब यी चारै एकै लाइनमा उभिन्छन्, तब ड्रग महामारीलाई रोक्न अभियान चाहिन्छ, भाषण होइन।

आज जनकपुरले छनोटको बिन्दुमा उभिएको देखिन्छ—“पोखरीमा फालिएका ६ बोरा लागूऔषधलाई केवल जाँचको विषय बनाउने कि, यसलाई सामाजिक युद्ध–घोषणाको पहिलो अध्याय बनाउने?” यदि हामीले यसलाई ‘समाज परिवर्तनको अलार्म’ ठानेर साझा अभियान सुरु गरेनौँ भने भोलि बोराभरी नशा भेटिने समाचार सामान्य बन्नेछ, जुन कुनै पनि समाजको ‘अन्तिम पतन–सूचक’ हो। त्यसैले यस घटनाले दिएको सन्देश स्पष्ट छ—सीमा बन्द गरेर राष्ट्र सुरक्षित हुँदैन, दिमागबाट नशा हटाएर राष्ट्र सुरक्षित हुन्छ। जनकपुर परिवर्तनको सुरुआत कुनै सिंहदरबारमा हुने बहसबाट होइन, टोल–टोलमा हुने सामूहिक सतर्कता, विद्यालयमा हुने जनचेतना, परिवारको निगरानी, र सुरक्षानिकायको इमानदार खुफिया–कामबाट सम्भव हुन्छ। यो लडाइ जित्नका लागि हामीलाई भौतिक नाका होइन, विचारको नाका, संस्कारको नाका, र जिम्मेवारीको नाका बलियो बनाउनुपर्छ। तब मात्र मिथिलाको यो सांस्कृतिक राजधानी फेरि नैतिकता, शान्ति, सौन्दर्य, उत्सव, र सुरक्षित भविष्यको प्रतीकमा फर्कनेछ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more