निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

२३ जेठ, जनकपुरधाम। नेपाली कांग्रेसका युवा नेता प्रवेश चौधरीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निर्दलीय रूपमा गराउन गरेको सिफारिसको स्वागत गरेका छन्।
शनिबार एक वक्तव्य जारी गर्दै चौधरीले आयोगको सिफारिसप्रति धन्यवाद व्यक्त गर्दै आगामी निर्वाचनको तयारीमा उत्साह, आत्मविश्वास र सकारात्मक सोचका साथ जुट्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेका हुन्।
उनले उक्त व्यवस्था लागू भएमा संघ र प्रदेशको निर्वाचन मात्र दलीय आधारमा हुने तथा स्थानीय तहमा उम्मेदवारले आफ्नो योग्यता, क्षमता, जनसम्पर्क र जनविश्वासका आधारमा प्रतिस्पर्धा गर्न सक्ने बताए। यसले पद, टिकट वा गुटगत समीकरणको पछि लाग्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ।
“अब टिकट कसैले दिने होइन, जनताको विश्वास र समर्थनका आधारमा आफैंले आफ्नो उम्मेदवारी स्थापित गर्ने समय आएको छ,” चौधरीले भने।
उनले जनताको माया, विश्वास र मतबाट विजयी भई जनसेवामा समर्पित हुने अवसर सबैका लागि खुला हुने उल्लेख गर्दै कार्यकर्ताहरूलाई जनतामाझ पुग्न, उनीहरूका समस्या, अपेक्षा र आवश्यकतासँग जोडिन आग्रह गरे।
चौधरीले संगठनभन्दा माथि जनहित, पदभन्दा माथि सेवा र राजनीतिभन्दा माथि जनविश्वासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सक्षम, इमानदार र उत्तरदायी नेतृत्व स्थापित गर्नुपर्ने धारणा राखे।
उनका अनुसार जनताको विश्वास नै सबैभन्दा ठूलो टिकट र जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो।

  • सम्बन्धित समाचारहरु

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more