मंसिर १३, जलेश्वर । जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये ३०३ जना फर्किए पनि अझै २७३ जना फरार रहेको कारागार प्रशासनले जनाएको छ। कारागारका जेलर अशोककुमार क्षेत्रीका अनुसार भाग्नेमा ४० भारतीय नागरिक समेत थिए, जसमध्ये १३ जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी नेपाल कारागार प्रशासनलाई हस्तान्तरण गरेपछि पुनः कारागार फर्काइएको थियो। बाँकी २९० जना भने आफैं स्वेच्छाले प्रशासनको आह्वानपछि फर्किएका हुन् भने केही अझै फर्किने क्रम जारी छ। घटना लगत्तै भदौ २५ गते कारागार प्रशासनले सबै कैदीबन्दीलाई सुरक्षित रूपमा फर्किन आह्वान गरेको थियो।
प्रशासनले अब फरार कैदीमाथि कारागार ऐन २०७९ तथा नेपालको अन्य प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। जेलर क्षेत्रीले कैदीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनी दण्ड गरिने स्पष्ट पारेका छन्। यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सुरक्षा निकायलाई सक्रिय परिचालन गरी फरार कैदीको खोजतलास तीव्र पारिएको जानकारी दिए। उनका अनुसार स्थानीय नेटवर्क, सूचना संकलन, सीमा निगरानी, मोबाइल टावर ट्रेसिङ तथा प्रहरी संयन्त्रमार्फत खोजी अभियान सञ्चालन गरिएको छ।



















