काठमाडौं, भदौ २० गते। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले भने, “०८४ मा हामीले कम्तीमा एकल बहुमत ल्याउनैपर्छ। यदि हामी जनतामाझ सक्रियतापूर्वक पुग्यौं, सदस्य र समर्थकलाई संगठित गर्यौं भने, हाम्रो बहुमत रोक्ने शक्ति कसैसँग छैन।”
प्रधानमन्त्री ओलीले निर्वाचनमा धाँधली हुने कुनै सम्भावना नरहेको दाबी गर्दै भने, “हामी सरकारमै छौं, त्यसैले कसैले धाँधली गर्न सक्दैन। निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुनेछ।”त्यस अवसरमा उनले नेता–कार्यकर्तालाई परिस्थिति बुझेर जनतामाझ जान र आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन समेत दिए।

















