महोत्तरीको बर्दिबासमा छात्रामाथि दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

भदौ १८, बर्दिवास। बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शिक्षालयमा कार्यरत शिक्षक वसन्तप्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा शिक्षालय र पीडित छात्राको अभिभावकले जाहेरी दिएको पुष्टि भएको छ। विद्यार्थीहरूको भनाइअनुसार शिक्षक यादवले परीक्षामा पास गरिदिने लोभ देखाएर छात्राहरूमाथि जबर्जस्ती शारीरिक सम्बन्ध बनाउन खोज्ने गरेको र राति–बेलुकी फोन गरेर धम्की दिने गरेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार, शिक्षक यादवले धम्की दिएको अडियोसमेत बरामद भएपछि शिक्षालयले उनलाई प्रहरीसमक्ष बुझाएको हो।

यसअघि पनि सोही शिक्षालयमा २०८१ पुस १५ गते तीन जना छात्राहरूले सामूहिक रूपमा विषसेवन गरी आत्महत्याको प्रयास गरेका थिए। सोमध्ये सिराहा धनगढी नगरपालिका–१० की १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको थियो। तर उक्त घटनामा समेत गम्भीर अनुसन्धान नगरिएको र ढाकछोप गरिएको भन्दै स्थानीयहरूले शिक्षालय प्रशासन र सम्बन्धित निकायको आलोचना गर्दै आएका छन्।

विद्यार्थी र अभिभावकहरूले पटक–पटक यस्ता घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन माग गर्दै आएका छन्। प्रहरीको भनाइअनुसार, पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान जारी छ।

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more