भदौ १४, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदाय अझै पनि राज्यबाट भेदभावको शिकार हुनुपरेको दाबी गरेका छन्। शनिबार जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै उनले भेदभाव अन्त्य नगरी समृद्ध समाजको कल्पना गर्न नसकिने बताए।
यादवका अनुसार, मधेसलाई आज पनि आर्थिक रूपमा कमजोर बनाउने नीतिगत अभ्यास जारी छ भने सरकारी निकायहरूमा मधेसीहरूको सहभागिता न्यून देखिन्छ। उनले भने, “देशको जनसंख्यामा मधेसीहरूको हिस्सा आधाभन्दा बढी छ, तर प्रतिनिधित्व गर्ने अवसर सीमित छ। प्रतिनिधि सभामा केही संख्यामा भए पनि राष्ट्रिय सभामा ५९ मध्ये जम्मा ६ जना मात्रै मधेसी छन्।”
लोकतन्त्रको आधारभूत मूल्य नै जनसंख्याका अनुपातमा प्रतिनिधित्व सुनिश्चित गर्नु भएको भए पनि मधेसीहरूलाई न्यून कोटा मार्फत मात्र प्रवेश दिने अवस्था अझै कायम रहेको उनको टिप्पणी थियो। उनले उच्च पदहरूमा समेत मधेसीहरूको पहुँच अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै, भेदभाव आंशिक रूपमा कम भए पनि समाप्त हुन नसकेको बताए।
सत्ता साझेदारीको प्रसङ्गमा यादवले मधेसले आफ्नो जनसंख्याको आधारमा बराबरको हिस्सा पाउनुपर्नेमा जोड दिए। उनले भने, “हाम्रो लक्ष्य जनसंख्याको आधारमा बराबरीको राजनीतिक अधिकार सुनिश्चित गर्नु हो। जबसम्म शोषण र उत्पीडनको अन्त्य हुँदैन, समृद्ध समाज निर्माण असम्भव छ।”

















