वीरगञ्जमा हैजाबारे प्रश्न गर्दा महिला पक्राउ

भदौ १४, बिरगंज । खानेपानी मन्त्री प्रदीप यादवलाई हैजाको समस्या नियन्त्रण गर्न नसकेको विषयमा कडा प्रश्न उठाएको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

स्थानीय किरण साहले मन्त्री यादवलाई फोनमार्फत वीरगञ्जमा फैलिएको हैजा, पानी परीक्षण नगरी वितरण गरिएको जस्ता विषयमा प्रश्न गरेका थिए। सो क्रममा उनले कडा स्वरमा मन्त्रीलाई जवाफदेही बनाउन माग गरेकी थिइन्। शनिबार वीरगञ्जको मुर्लीबाट साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्।

मिश्रका अनुसार खानेपानी मन्त्रालयको सचिवालयले प्रहरीमा उजुरी दिएपछि साहलाई नियन्त्रणमा लिइएको हो। साहविरुद्ध साइबर अपराधसम्बन्धी उजुरी परेको र हाल सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।

अडियो भाइरल भएपछि पक्राउ

शुक्रबार राति सामाजिक सञ्जालमा एक अडियो रेकर्ड भाइरल बनेको थियो। उक्त अडियोमा साह र खानेपानी मन्त्री यादवबीचको तीव्र विवादपूर्ण कुराकानी सुन्न सकिन्छ।

साहले मन्त्रीलाई पटक–पटक फोन गर्दा पनि जवाफ नपाएको भन्दै असन्तोष प्रकट गरेकी थिइन्। अडियोमा उनले सुरुमा सोध्छिन् – “अपने फोन काहे नइखी उठावत?” (तपाईंले फोन किन उठाउनुभएन?)। त्यसपछि उनले लगातार सोध्छिन् – “खानेपानी मन्त्री प्रदीपज्यू बोल्नुभएको हो?”। मन्त्री यादवले ‘हो’ भनी जवाफ दिएपछि साहले तीव्र शैलीमा प्रश्न गर्न सुरु गर्छिन्।

अडियोमा साहले प्रश्न गरेकी छिन् –

“वीरगञ्जमा कति जनाको हैजाका कारण मृत्यु भयो?”

“तपाईंहरूले पानी वितरण गर्दा के परीक्षण गर्नुभयो?”

“त्यो कारणले अहिले धेरै मानिस अस्पतालमा भर्ना भएका छन्, मेरो घरको मान्छे समेत आईसीयूमा छ।”

अन्त्यमा उनले स्पष्ट रूपमा भनिन् – “म तपाईंलाई छोड्दिनँ, डर लाग्दैन।”

हालसालै वीरगञ्जमा हैजाको प्रकोप देखिएको छ। संक्रमितहरूको संख्या बढ्दै गएपछि स्थानीय स्तरमा आक्रोश चुलिएको छ। साहले पनि यही सन्दर्भमा मन्त्रीलाई जवाफदेही बनाउन फोन गरेको बताइएको छ।तर मन्त्रीसँगको विवादपूर्ण अडियो सार्वजनिक भएपछि उनीमाथि साइबर अपराधको उजुरी दर्ता गरिएर प्रहरी नियन्त्रणमा लिइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more