✍️ शिवराम झा” गुड्डु” —–
जनकपुरधाम—मिथिलाको सांस्कृतिक राजधानी। यहाँको धार्मिक गरिमा, ऐतिहासिक गौरव र जनताको अपार आशाले यो शहरको पहिचान निर्माण गरेको छ। तर यो पहिचानसँगै एक अर्को दृश्य पनि हरेक वर्ष दोहोरिन्छ—असाढे विकास। सडक किनारमा झिसमिसे घाममा खनिएको धूलो, वर्षातसँगै भरिएका ढल, र रातारात उठाइएका पर्खालहरू जसको स्थायित्व केही महिनाभन्दा बढी हुँदैन।
“असाढे विकास” जनकपुरमा विकास होइन, विडम्बनाको पर्याय बनिसकेको छ।”असाढे विकास” भन्नाले आर्थिक वर्षको अन्तिम महिनामा, असारमा, बजेट सकाउन हतारमा गरिने विकासको नाटकलाई जनाइन्छ। स्थानीय पालिका, प्रदेस र संघ ले योजना बिना, सार्वजनिक परामर्श बिना, हतारमा गरिएको निर्माण कार्य विकास होइन — बजेट सकाउने बहाना मात्र हुन्छ।जनकपुरधाम उपमहानगरपालिकामा वर्षभरि सुस्त गतिमा चल्ने विकास कार्यहरू असार लागेपछि अचम्मकै गतिको चमत्कार देखाउँछन्।
जताततै बाटो खनिन्छ, ढल बनाइन्छ कामको गुणस्तर नाप्ने कुनै संयन्त्र देखिंदैन,भर्खरै पिच गरिएका सडकहरू फेरि खनिन्छ,ढलको पानी सडकमा मिसिन्छ,चोक–चोकमा रातारात सुरु हुने निर्माणले जनजीवन अस्तव्यस्त बनाउँछ
यस्तो हुनु को प्रमुख कारण बजेट कार्यान्वयनमा ढिलाइ:
योजना साउनदेखि सुरु हुने भए पनि अधिकांश योजनाहरू फागुन–चैतपछि मात्रै पास हुन्छन्।विकास ठेकेदारको भरमा छ, जसले बिल सजिलो पार्न योजना हतारमा सम्पन्न गर्छन्, गुणस्तरको ख्याल नगरी।उपमहानगरपालिकाका जनप्रतिनिधिहरू बजेटलाई आफ्ना कार्यकर्ता र सम्बन्धित कम्पनीमा बाँड्ने प्रवृत्तिमा लागेका छन्। पारदर्शिता छैन।जनकपुरका नागरिक योजनाबारे कहिल्यै परामर्शमा बोलाइँदैनन्। योजनाहरू ‘भित्रै’ तय हुन्छन्।
जसकोकारण जनकपुरधामको सिंगो शहर धूलोको राजधानी बनिसकेको छ। असारमा उठाइएका सडकले वर्षभर जनतालाई हैरान बनाउँछ। असारमा बनाइएका नालीहरूको सन्तुलन नराखिँदा वर्षातमा सिङ्गो बजार क्षेत्र जलमग्न हुन्छ।
गलत ढल व्यवस्थापनका कारण हैजा, डेंगु, झाडा–पखालाजस्ता रोगहरू सिजनल रूपमा फैलिन्छन्। बाहिरी पाहुनाले जनकपुरलाई हेर्दा धर्मशालाभन्दा बढी ‘धूलोशाला’ देख्छन्।
यसलाइ अन्त्य गर्न जनकपुर जस्तो शहरमा विकास दीर्घकालीन सोच र जनसहभागितामा आधारित हुन आवश्यक छ। योजना पास हुनुअघि सार्वजनिक रूपमा बहस गरिनुपर्छ।त्यसैगरी निर्माण कम्पनीको गुणस्तर प्रमाणीकरण अनिवार्य बनाइनुपर्छ।योजनाको प्रगति अनलाइन ट्रयाक गर्न सकिने व्यवस्था बनाउनु पर्छ। यतिले मात्रै पुग्दैन वडास्तरमा नागरिक अनुगमन समिति गठन गरेर हरेक योजनाको स्थलगत निरीक्षण गर्नु पर्छ । यसकालागी सञ्चारमाध्यमको भूमिकालाई मजबुत बनाउनु पर्छ जनकपुरमा सञ्चारकर्मीहरूले असाढे विकासमाथि तथ्यमा आधारित रिपोर्टिङ गर्नुपर्छ।
यसरी जनकपुरका नागरिकलाई असारमा सडक खनिएको, पानीमा घाँटीसम्म हिलो पारेर हिँड्नु परेको, अनि भदौमा फेरि उही समस्या देख्नु नयाँ अनुभव होइन। हरेक वर्ष आशा पलाउँछ — “यसपालि त फरक होला”, तर फेरि बिल मात्र पास हुन्छ, सपना होइन।
अब यो चक्र तोड्नु पर्छ। विकास योजना बेलैमा, पारदर्शी ढंगले, दीर्घकालीन सोचसहित लागू गर्नुपर्छ। जनकपुर केवल धार्मिक नगरी होइन, यो जनताको शान हो। यसलाई असाढे विकासको चक्रबाट मुक्त गर्न जनचेतना, जनदबाब र जवाफदेहिता जरुरी छ।



















