——✍️ शिवराम झा” गुड्डु”
जनकपुरधाम धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वले भरिएको मिथिला क्षेत्रको केन्द्र। यो शहर केवल राम-जानकीको प्रेमकथाको साक्षी मात्र होइन, हजारौं वर्ष पुराना परम्परा, कलाकौशल, वास्तुकला र सामाजिक जीवनशैलीको प्रतिनिधित्व गर्ने धरोहरहरूको खानी हो। तर दुःखको कुरा, ती अमूल्य धरोहरहरू आज उपेक्षा, अव्यवस्था, अतिक्रमण र सरकारी लापरवाहीको कारण संकटमा छन्।
जनकपुरमा रहेका प्रमुख धरोहरहरूमा जानकी मन्दिर, राम मन्दिर, मणिमण्डप , रामायण भवन, जनक राजा दरबारको भग्नावशेष, पुराना कुँवा र इनारहरू, सतुनी कुण्ड, गंगासागर, धनुष सागर, पग-पगमा भेटिने मठ-मन्दिर, धर्मशालाहरू,पोखरी हरु, मिथिला कलाका भित्ते चित्र, परम्परागत घरहरू आदि पर्छन्। यी सबैले जनकपुरको ऐतिहासिक र सांस्कृतिक गरिमा बोकेका छन्।
बढ्दो शहरीकरण, अनियन्त्रित निर्माण, पर्यटनको नाममा गरिने भौतिक संरचना परिवर्तन, ऐतिहासिक सम्पदामा सरकारी तथा स्थानीय तहको उदासीनता र जनताको चासोको कमीले गर्दा यिनमा गम्भीर क्षति पुगेको छ।
जनकपुरधामका यी सम्पदाहरू नेपालकै पुरातन इतिहासको महत्वपूर्ण कडी हुन्। मिथिला सभ्यता र संस्कृतिको प्रतिक हुन् यी संरचनाहरू सहि संरक्षण र प्रवर्द्धन भएमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ जनकपुर। पुस्ताले आफ्ना जरा चिन्न र गर्व गर्न सक्ने अवसर प्राप्त गर्छन्।
सनरक्षण्का लागि जनकपुरमा कति पुराना मठ-मन्दिर, इनार-कुवा, धर्मशाला, भवन, मण्डप आदि छन्? उनीहरूको अवस्था, निर्माण समय, ऐतिहासिक महत्वबारे विस्तृत अभिलेख तयार पार्नुपर्छ। जनकपुर उपमहानगरपालिकाले सम्पदा नीतिको निर्माण गर्नुपर्छ। हरेक वडामा सम्पदा संरक्षण उपसमिति बनाई स्थानीय स्वयंसेवक र विज्ञहरूको संयोजनमा काम गर्न सकिन्छ।जनतालाई आफ्नो धरोहरप्रतिको माया जगाउनुपर्छ। विद्यालय, कलेज, युवा क्लब, सामाजिक संस्था मार्फत धरोहर संरक्षणबारे सचेतना फैलाउनुपर्छ।
अतिक्रमण रोक्न, ऐतिहासिक स्थलमा अनधिकृत निर्माण रोकिने गरी कानुनी व्यवस्था गरिनुपर्छ। पुरातात्त्विक सम्पदा ऐन २०१३ को प्रभावकारी कार्यान्वयन हुनुपर्छ।
भित्ते चित्र, माटोको कलाकृति, लोकगीत, पारम्परिक वास्तुकलाको संरक्षण र प्रवर्द्धन गर्न कलाकारहरूको क्षमता विकास, प्रदर्शनी, बिक्री केन्द्रहरूको स्थापना हुनुपर्छ।धार्मिक तथा सांस्कृतिक पर्यटनलाई विशेष प्राथमिकता दिई मार्गनिर्देशन, जानकारी केन्द्र, पर्यटक मैत्री पूर्वाधार विकास गर्नुपर्छ। पर्यटन आयले संरक्षण खर्च धान्न सक्छ।
सरकार, गैरसरकारी संस्था र निजी क्षेत्रबीच सहकार्य गरी पुराना भवनहरूको पुनःसंरचना, संग्रहालयको स्थापना, सांस्कृतिक केन्द्रहरूको निर्माण गरिनुपर्छ।
यदि हामी आज नै सचेत भएनौं भने, पन्ध्र–बीस वर्षपछि हामीसँग केवल फोटो, स्मृति र पश्चाताप मात्र बाँकी रहनेछ। विकासको नाममा धरोहर मास्नु आत्मघाती कदम हो। हाम्रा पुर्खाको मेहनत, सांस्कृतिक गर्व, ऐतिहासिक आत्मा यिनै संरचनामा बाँचेका छन्। नयाँ संरचना पुराना जति मूल्यवान हुन सक्दैनन्।
सामाजिक संजालमा संरक्षणका पक्षमा आवाज उठाउनुहोस्।
कुनै धरोहर जोखिममा परिरहेको देखिए स्थानीय तहलाई खबर गर्नुहोस्।
आफ्नो घर/समुदायमा रहेका पुराना संरचना नफाल्न र बचाइ राख्न अग्रसर बनौं।
बच्चाबच्चीलाई ती ठाउँको इतिहास सुनाऔं, त्यसप्रति गर्व गर्न सिकाऔं।
पछिल्ला केही संरक्षण प्रयासहरू लाइ सकारात्मक रुपमा लिन सकिन्छ।
धेरै वर्षको उपेक्षापछि जनकपुरका केही धरोहरहरू संरक्षणको मार्गमा लागेका उदाहरणहरू पनि छन्, जुन उत्साहजनक छन्।
जानकी मन्दिर क्षेत्रको सरसफाइ अभियान: स्थानीय युवा समूह, विद्यार्थी, र स्वयंसेवकहरूले जानकी मन्दिर वरिपरिका क्षेत्रको सरसफाइमा सक्रिय भूमिका खेलेका छन्।
त्यसतै प्राचीन पोखरी गङ्गासागर सरसफाइ गरि अहिले भइरहेको गङ्गा आरती प्रमुख आकर्षण को केन्द्र बनेको छ।
मिथिला चित्रकलाको प्रवर्द्धन: केही गैरसरकारी संस्थाहरूले महिलाहरूलाई चित्रकला तालिम दिएर घरमै चित्र बनाउन प्रोत्साहन गरिरहेका छन्। ‘जनकपुर विमेन्स डेभलपमेन्ट सेन्टर’ जस्ता संस्थाहरूले मिथिला कलाको बजार विस्तारमा टेवा पुर्याएका छन्। मैथिली बिकास कोष जसले मिथिला संस्कृति लाई संरक्षण र समवर्धन गर्न सहि पाइला चालिरहेका छन । मणिमण्डपमा जनकदरवार झल्काउने भौतिक निर्माण जस्ता प्रयासहरू सानो भए पनि महत्वपूर्ण छन्। यिनलाई निरन्तरता दिने, विस्तार गर्ने र सरकारी नीति र बजेटसँग जोड्ने हो भने प्रभावकारी रूपले सम्पदा जोगाउन सकिन्छ।
युवाहरूले सामुदायिक क्लब खोलेर आफ्नो वडाको धरोहरहरूको फोटो, विवरण, इतिहास संकलन गर्न सक्छन्। विद्यालय वा कलेजमा ‘मिथिला सांस्कृतिक सप्ताह’ जस्ता कार्यक्रम गरेर आफ्ना साथीहरूमा चासो जगाउन सकिन्छ।
स्मार्टफोनबाटै पुराना संरचना, इनार, चित्र, कुण्डहरूको तस्बिर खिचेर डिजिटल अभिलेख बनाउन सकिन्छ। यी दस्तावेजहरू नगरपालिका वा प्रदेश सरकारलाई बुझाएर नक्सामा राख्न सकिन्छ।
जनकपुरधाममा सम्पदा वाकको आयोजन गरेर विद्यार्थी, पत्रकार, पर्यटकहरूलाई ती स्थलको भ्रमण गराउन सकिन्छ। यसले संरक्षणप्रति जनचेतना जगाउने काम गर्छ।
‘गंगासागरको संरक्षण गरौं’, ‘धनुष सागर बचाऔं’, ‘जनक दरबार पुनःस्थापना गरौं’ जस्ता शीर्षकमा हस्ताक्षर अभियान चलाउन सकिन्छ जसले सरकारलाई दबाब दिन सहयोग गर्छ।
त्यसैगरी मधेश प्रदेश सरकारले जनकपुरलाई ‘सांस्कृतिक राजधानी’ घोषणा गरे पनि त्यो घोषणा व्यवहारमा परिणत भएको छैन। अब आवश्यक छ:
सांस्कृतिक बजेट छुट्याउने
सम्पदा संरक्षण ऐन प्रदेशस्तरमा निर्माण गर्ने
स्थानीय युवा तथा कलाकारसँग सहकार्य गर्ने
जनकपुर संग्रहालय निर्माण जस्ता दीर्घकालीन योजनाहरू अघि बढाउने
संघीय सरकारको पुरातत्व विभागले जनकपुरलाई विशेष प्राथमिकतामा राखेर यहाँका धरोहरहरूका लागि अनुदान, सीप, र प्राविधिक सहयोग दिनुपर्ने हुन्छ।
यदि संरक्षण भएन भने…
जनकपुरधामको हालको संरचनात्मक गतिको मुल्यांकन गर्दा यस्तो देखिन्छ:
अवस्था प्रभाव
अतिक्रमण बढ्दै ऐतिहासिक स्वरूप हराउँदै
पक्की संरचना हावी प्रभाव वास्तुकला नष्ट
जनचासोको अभाव मौलिकता हराउने
केवल धार्मिक पर्यटनमा केन्द्रित सम्पूर्ण सांस्कृतिक सम्भावना खुम्चिने
जनकपुरका धरोहरहरू केवल राम जानकीको कथा मात्र होइनन्, तिनीहरू हजारौं वर्षको कला, भाषा, संगीत, साहित्य, जनजीवन र दर्शनको निचोड हुन्। ती नास भए भने मिथिला पहिचान मात्र होइन, समग्र नेपाली सांस्कृतिक विविधता पनि खुम्चिन्छ।
👉 तपाईंको घर नजिकै कुनै इनार देख्नु भएको छ?
👉 कुनै पुरानो मठ, चित्र, कुण्ड बाँकी छ?
👉 त्यहाँ डोजर चल्दैछ?
अहिले बोल्नुहोस्। अहिले लेख्नुहोस्। अहिले साझा गर्नुहोस्।
जनकपुरका धरोहरहरू कुनै राज्यको मात्र सम्पत्ति होइनन्, यो हाम्रा पुर्खाको गर्व र हामी सन्तानको उत्तरदायित्व हो। संरक्षण केवल ‘काम’ होइन—यो एक आन्दोलन हो।
जनकपुरधाम केवल धार्मिक यात्रा गर्ने ठाउँ होइन। यो एक जीवित संग्रहालय हो, जहाँ हरेक पाटा–गल्ली, कुँवा–इनार, मन्दिर–मठ इतिहास बोल्छ। त्यस इतिहासलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो। सरकारले आफ्नो जिम्मेवारी लिँदै दीर्घकालीन नीति बनाउनुपर्छ, जनताले पनि आफ्ना धरोहरहरूलाई केवल हेर्ने होइन, बचाउने काममा सक्रिय हुनुपर्छ।
हामीले अब पनि चासो लिएनौं भने, भविष्यले सोध्नेछ—“तिमीहरूले के गर्यौ जनकपुरका अमूल्य धरोहर बचाउन?”



















