माघ ६, काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
यससँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई दिइएको वैधानिकता कायम रहेको छ। यसअघि निर्वाचन आयोगले पनि थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको थियो। आयोगको निर्णयपछि असन्तुष्ट देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो।
विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीभित्र आधिकारिकता विवाद चुलिएको थियो। गगन थापा–विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै शेरबहादुर देउवासहित दुई जनाले निर्वाचन आयोग र अन्य पक्षलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चको अन्तरिम आदेश नआउने निर्णयसँगै कांग्रेसको संगठनात्मक गतिविधि अघि बढ्न बाटो खुलेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टिकट वितरणमा पनि सभापति गगन थापाले नै हस्ताक्षर गरिसकेका छन्।



















