माघ ५, जनकपुरधाम। — धनुषा क्षेत्र नं. २ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाको जित सुनिश्चित गर्न सञ्जीव झा सुरजको समर्थन र विश्वास अत्यावश्यक रहेको स्थानीयहरूले बताएका छन्। झा यसअघि क्षेत्र नं. १ का क्षेत्रीय इन्चार्जसमेत रहेका थिए। स्थानीयका अनुसार सञ्जीव झालाई आफ्नो पक्षमा नल्याई र उनको विश्वास नजिती सो क्षेत्रमा एमालेका उम्मेदवारलाई जित दिलाउन सहज छैन।
धनुषा क्षेत्र नं. २ को प्रदेश सभा–२०७९ को प्रत्यक्ष निर्वाचन परिणामले पनि सञ्जीव झाको राजनीतिक प्रभाव स्पष्ट रूपमा देखाएको स्थानीयहरूको भनाइ छ। उक्त निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सञ्जीव कुमार सुरजले ९ हजार २०४ मत प्राप्त गरेका थिए। उनी जनता समाजवादी पार्टीका राम असिस यादवसँग झिनो मतान्तरले पराजित भएका थिए। यसले झाको लोकप्रियता र बलियो मतदाता आधारलाई पुष्टि गर्ने विश्लेषण गरिएको छ।
स्थानीयहरूको भनाइमा पछिल्लो समय सञ्जीव झाको असन्तुष्टिले पार्टी संगठन कमजोर बन्दै गएको संकेत देखिन थालेको छ। यसले आगामी निर्वाचनमा एमालेको रणनीतिमा चुनौती थपिन सक्ने उनीहरूको टिप्पणी छ।
स्थानीय सन्तोष यादवले भने, “हाम्रो नेता सञ्जीव झा हुन्। हामी उहाँको भावना विपरीत एक कदम पनि चाल्दैनौं। जहाँ हाम्रो नेताको कदर हुँदैन, त्यहाँ हाम्रो उपस्थिति हुने कुरा सोच्न पनि सकिँदैन।” उनका अनुसार सञ्जीव झाप्रति स्थानीय कार्यकर्ता र समर्थकहरूको दृढ निष्ठा कायमै छ।
नेता सञ्जीव झा पछिल्लो समय नेकपा एमालेको अधिवेशनदेखि नै असन्तुष्ट रहँदै आएको चर्चा छ। उनको असन्तुष्टिले धनुषा क्षेत्र नं. २ मात्र होइन, समग्र धनुषा जिल्लामै एमालेको संगठन र आगामी निर्वाचन रणनीतिमा गम्भीर असर पार्न सक्ने विश्लेषण हुन थालेको छ।

















