१० फागुन , रौतहट । — दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव समाधानका लागि भोलि बिहान सद्भाव र्याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले झडप साम्य पार्न र सामाजिक सद्भाव पुनःस्थापना गर्न र्याली गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल का अनुसार शान्तिपूर्ण वातावरण कायम राख्न सरोकारवाला सबै पक्षले सार्वजनिक रूपमा अपिल गर्ने निर्णय समेत बैठकले गरेको छ। साथै, झडपलाई उत्तेजित बनाउने व्यक्तिमाथि आवश्यक कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने सहमति पनि जुटेको जनाइएको छ।
यसैबीच झडपपछि अवस्था तनावपूर्ण बनेकाले प्रशासनले जारी गरेको कर्फ्यु आदेश यथावत राखिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हिजोदेखि लागू कर्फ्युलाई निरन्तरता दिइएको प्रजिअ भुसालले जानकारी दिए।
हिजो दिउँसोदेखि लागू भएको कर्फ्यु आज बिहान साढे ६ बजेसम्म निरन्तर कायम थियो। त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म कर्फ्यु आंशिक रूपमा खुकुलो पारिएको थियो। तर बिहान साढे ८ बजेदेखि अर्को आदेश जारी नभएसम्म पुनः कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

















