८ चैत, जनकपुरधाम। — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सचिवालयको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। चैत ७ गते बसेको बैठकले निर्वाचन समीक्षा, संगठन सुदृढीकरण र अनुशासन सम्बन्धी विषयमा केन्द्रित निर्णयहरू गरेको हो।
बैठकले सबै जिल्लाहरूलाई विस्तारित निर्वाचन समीक्षा बैठक आयोजना गर्न निर्देशन दिएको छ। सम्बन्धित क्षेत्रका उम्मेदवार, क्षेत्रीय समिति, पालिका, वडा तथा सबै तहका प्रतिनिधिहरूको सहभागितामा समीक्षा बैठक सम्पन्न गरी १५ दिनभित्र प्रतिवेदन प्रदेश सचिवालयमा पठाउन भनिएको छ।
त्यसैगरी, प्रदेश सचिवालयका सदस्य तथा प्रदेश प्रतिनिधिहरूलाई निर्वाचन क्षेत्र समितिको समीक्षा बैठकमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।
निर्वाचन अवधिमा पार्टी पदाधिकारी वा सदस्यबाट कुनै अनुशासनहीन गतिविधि भएको प्रमाणित भए तत्काल कारबाही गर्ने तथा आवश्यक परे केन्द्रीय अनुशासन आयोगमा सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
बैठकले मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सम्मान तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रम चैत मसान्तभित्र आयोजना गर्ने जनाएको छ।
यस्तै, संगठन निर्माणलाई तीव्रता दिन चैत मसान्तदेखि वडा तहसम्म समिति गठन प्रक्रिया सुरु गर्ने र एक महिनाभित्र सबै तहका बाँकी समिति गठन गरी अभिलेखीकरण गर्ने निर्देशन पनि दिइएको छ।

















