राजश्री जनक विश्वविद्यालय भवन निर्माणको प्रक्रिया सुरु

भदौ १९ , जनकपुरधाम । बहुप्रतिक्षित राजश्री जनक विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन निर्माण औपचारिक रूपमा सुरु भएको छ। गुठी संस्थानसँग भएको सम्झौता अनुसार नगराइन नगरपालिका–८, मनियारीमा आजदेखि जग्गा नापजाँच तथा छुट्याउने कार्य प्रारम्भ गरिएको हो।

नेपाली कांग्रेसका युवा नेता प्रवेश चौधरीको संयोजनमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री रामसरोज यादव, विश्वविद्यालयका प्रतिनिधि प्रसासन प्रमुख सन्तोष अर्याल , नगराइन नगरपालिकाका मेयर बिनय कुमार यादव, विभिन्न वडाध्यक्षहरू र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सहभागी स्थानीयले लामो समयदेखि प्रतीक्षा गरिएको विश्वविद्यालय भवन निर्माण कार्य अगाडि बढ्न थालेको भन्दै खुसी व्यक्त गरेका छन्।

सांसद यादवले कतिपयले विश्वविद्यालय राजधानीमै हुनुपर्ने जिकिर गरेको सुनिएको जानकारी दिए। तर, उनका अनुसार, मधेश प्रदेशको राजधानीको चारकिल्ला बमोजिम मनियारी क्षेत्र राजधानीकै केन्द्रमा पर्ने भएकाले अब अनावश्यक विवाद नगरी सहयोगमा जोड दिनुपर्ने बताए। उनले थपे-
“शिक्षा जस्तो संवेदनशील विषयमा राजनीति गर्नु उचित हुँदैन। यो प्रदेशकै गौरवको विषय भएकाले सबैले हातेमालो गरेर विश्वविद्यालयको निर्माणमा सहयोग गर्नुपर्छ।”

युवा नेता प्रवेश चौधरीले आजदेखि औपचारिक रूपमा विश्वविद्यालय भवन निर्माणको प्रक्रिया सुरु भएको घोषणा गर्दै चाँडै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गरे।उनले भने –“यो केवल औपचारिक सुरुवात मात्र होइन, अबदेखि विश्वविद्यालयको कामले तीव्रता लिनेछ। यसले मधेश प्रदेशमा उच्च शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरु गर्नेछ।”

राजश्री जनक विश्वविद्यालय स्थापना गर्ने माग विगत लामो समयदेखि उठ्दै आएको थियो। मधेश प्रदेशमा बढ्दो जनसंख्या, शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था तथा विश्वविद्यालयको अभावका कारण विद्यार्थीहरू अन्यत्र जान बाध्य हुने अवस्था थियो।

यसै सन्दर्भमा, संघीय सरकारले २०७९ सालमा राजश्री जनक विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको हो। विश्वविद्यालयलाई जनकपुरधाम केन्द्र मान्दै यसले प्रदेशकै उच्च शिक्षामा नेतृत्व दिने अपेक्षा गरिएको छ।

गुठी संस्थानसँग सम्झौता गरेर मनियारीमा आवश्यक जग्गा सुनिश्चित गरिएको र हालको प्रक्रिया सोही निरन्तरताको हिस्सा हो। तर, विश्वविद्यालय कहाँ स्थापना गर्ने भन्ने विषयमा समय–समयमा विवाद उत्पन्न भएको थियो। कतिपयले यसलाई राजधानी क्षेत्रभन्दा बाहिर लैजानुपर्ने तर्क गरे पनि अन्ततः राजधानी क्षेत्रभित्रै राख्ने सहमति जुटाइएको हो।

मनियारीका स्थानीयवासीले विश्वविद्यालय भवन निर्माणले जनकपुरधाम मात्र होइन, सम्पूर्ण प्रदेशकै शैक्षिक स्तर उकास्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले लामो प्रतीक्षापछि सुरु भएको यो प्रक्रियालाई ऐतिहासिक कदम भनेका छन्।

राजश्री जनक विश्वविद्यालयको भवन निर्माण प्रक्रिया सुरु भएसँगै मधेश प्रदेशमा शैक्षिक पूर्वाधार मजबुत हुने आशा गरिएको छ। प्रदेशका विद्यार्थीहरू अब आफ्नै क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा पाउने सम्भावना प्रबल बनेको छ। राजनीतिक तहबीच सहकार्य कायम भए यस विश्वविद्यालयले प्रदेशकै शैक्षिक नक्सामा नयाँ अध्याय सुरु गर्ने विश्वास लिइएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more