असोज २२, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनीतिक दल — नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टी — ले संयुक्त रूपमा बहुमतको दाबी गर्दै सरकार गठनका लागि औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्।
मधेश प्रदेश प्रमुखसमक्ष मिति २०८२ साल असोज २२ गते दर्ता गरिएको पत्रमा संविधानको धारा १६८(२) बमोजिम बहुमत प्राप्त सरकार गठन गर्न माग गरिएको छ। प्रस्तुत दाबी अनुसार प्रदेशसभामा हाल कार्यरत कुल सदस्य संख्या ५८ रहेकोमा उक्त दाबीमा ५६ जना प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख छ।
पत्रमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव का हस्ताक्षर छन्।
तीन दलका नेताहरूले संविधानअनुसार धारा १६८(२) को व्यवस्था अनुसार संयुक्त रूपमा बहुमतको समर्थनमा नयाँ सरकार गठन गर्न माग गरेका हुन्। यस अनुसार मुख्यमन्त्री पदका लागि एमालेका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठनको दाबी गरिएको बताइएको छ।
प्रदेशसभामा एमालेका २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका ११ जना सदस्य छन्। ती सबैको हस्ताक्षरसहितको समर्थन पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको हो।अब संविधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुखले बहुमतको दाबीको प्रमाणीकरण गरी नयाँ सरकार गठनका लागि आवश्यक कदम चाल्नेछन्।
















