माघ ७, काठमाडौ । — पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल प्रतिवादी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सोहीअनुसार जरिवाना र सजायको मागदाबी गरेको छ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा माधव कुमार नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको अभियोग छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति प्रदान गरेको थियो। त्यस्तै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिइएको दाबी अख्तियारले गरेको छ।
पतञ्जलि प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको आरोप छ। सोही जग्गा प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियारले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

















