अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा राहत नपाएको उपभोक्ताको गुनासो

११ अषाढ,जनकपुरधाम।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य अपेक्षित रूपमा नघटाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्।
सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक मञ्चमार्फत व्यक्त भइरहेको गुनासोअनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको छ। यति ठूलो गिरावट आइसके पनि नेपाली उपभोक्ताले भने अझै महँगो दरमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरेको भन्दै असन्तुष्टि जनाइएको छ।
उपभोक्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले पाउनुपर्ने भए पनि व्यवहारमा त्यस्तो हुन नसकेको बताएका छन्। मूल्य नघटाइएको विषयमा नेपाल आयल निगम ले नेपालले कच्चा तेल नभई प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव तत्काल नपर्ने तर्क गर्दै आएको छ।
तर आलोचकहरूका अनुसार कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समयको अन्तर तथा प्रशोधन खर्चको प्रभाव रहने भए पनि कच्चा तेलमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित तेलको लागतमा पनि प्रभाव पार्ने भएकाले मूल्य समायोजन हुनुपर्ने हो।
उपभोक्ताहरूले नियमित रूपमा १५–१५ दिनमा लागू हुने मूल्यसूचीअनुसार स्वचालित मूल्य प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूको भनाइमा मूल्य बढ्दा तत्काल समायोजन हुने तर घट्दा ढिलाइ हुने प्रवृत्तिले उपभोक्तामाथि अन्याय भएको छ।
“घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर निगमलाई साथ दिने, तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा राहत नपाउने अवस्था अन्त्य हुनुपर्छ,” भन्ने जनगुनासो व्यापक रूपमा उठिरहेको छ।
यद्यपि, इन्धनको मूल्य निर्धारण भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य, ढुवानी लागत, कर तथा अन्य व्यवस्थापकीय पक्षका आधारमा हुने भएकाले वास्तविक मूल्य संरचनाबारे नेपाल आयल निगमको आधिकारिक धारणा आउन बाँकी रहेको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more