छात्रामैत्री शिक्षातर्फ जनकपुरधामको ठूलो कदम, सकल भवन अब पूर्ण महिला विद्यालय

११ जेठ, जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाले महिला सशक्तिकरण तथा छात्रामैत्री शैक्षिक वातावरण निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ । उपमहानगरपालिका–११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयलाई पूर्ण रूपमा महिला विद्यालयको स्वरूप दिने निर्णयसँगै शिक्षा क्षेत्रमा नयाँ बहस र सकारात्मक सन्देश प्रवाह भएको छ ।
उपमहानगरपालिकाको शिक्षा समितिबाट पारित उक्त निर्णयमा नगरप्रमुख मनोज साहको विशेष सक्रियता रहेको बताइएको छ । यसअघि विद्यालयमा छात्रीहरूको मात्र भर्ना हुने व्यवस्था भए पनि शिक्षक तथा कर्मचारी संरचनामा पुरुषको संख्या उल्लेख्य रहेकाले विद्यालयलाई व्यवहारिक रूपमा पूर्ण महिला विद्यालय बनाउन कठिनाइ भइरहेको गुनासो उठ्दै आएको थियो ।
यही अवस्थालाई ध्यानमा राख्दै उपमहानगरपालिकाले हालै सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान प्रक्रिया अघि बढाएको थियो । सोही प्रक्रियाअन्तर्गत अन्य विद्यालयमा कार्यरत महिला शिक्षकहरूलाई सकल भवन कन्या माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ भने विद्यालयमा कार्यरत पुरुष शिक्षक तथा कर्मचारीलाई अन्य विद्यालयमा सरुवा गरिएको जनाइएको छ ।
उपमहानगरपालिकाका अनुसार विद्यालयलाई नाममात्रको कन्या विद्यालय नभई व्यवहारिक रूपमा पनि पूर्ण महिला विद्यालयको रूपमा विकास गर्ने लक्ष्यका साथ यो निर्णय गरिएको हो । विद्यालयमा अध्ययनरत छात्रीहरूलाई सुरक्षित, सहज र आत्मविश्वासपूर्ण वातावरण प्रदान गर्न महिला शिक्षक तथा कर्मचारीको उपस्थिति महत्वपूर्ण हुने ठहर गर्दै यस्तो कदम चालिएको बताइएको छ ।
विद्यालयका वर्तमान प्रधानाध्यापक आगामी भदौ महिनामा अवकाश हुने तयारीमा रहेकाले तत्काल उनको सरुवा नगरिएको जानकारी दिइएको छ । अवकाशपछि विद्यालयमा महिला प्रधानाध्यापक नियुक्त गर्ने तयारी उपमहानगरपालिकाले गरिरहेको छ । त्यसपछि विद्यालय पूर्ण रूपमा महिला नेतृत्व, महिला शिक्षक तथा महिला कर्मचारीद्वारा सञ्चालन हुने विश्वास गरिएको छ ।
यस निर्णयलाई शिक्षाविद्, अभिभावक तथा स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार किशोरी छात्राहरूको मनोविज्ञान, सुरक्षा र आत्मीय वातावरणलाई ध्यानमा राख्दा यस्तो विद्यालयको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो ।
अब महिला शिक्षकहरूको नेतृत्वमा विद्यालय सञ्चालन हुँदा छात्रीहरू थप खुला रूपमा आफ्ना समस्या राख्न सक्ने, सिकाइप्रति आत्मविश्वास बढ्ने तथा विद्यालयमा अनुशासन र सहभागिता समेत मजबुत हुने विश्वास गरिएको छ ।
स्थानीय अभिभावक तथा सामाजिक अगुवाहरूले यस कदमलाई केवल प्रशासनिक निर्णयका रूपमा नभई महिला नेतृत्व र लैंगिक समानतालाई व्यवहारमा लागू गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार अझै पनि समाजका धेरै क्षेत्रमा महिलाको सहभागिता सीमित भइरहेका बेला शिक्षाजस्तो संवेदनशील क्षेत्रमा महिलालाई प्राथमिकता दिनु दूरदर्शी निर्णय हो ।
महिला अधिकारकर्मीहरूका अनुसार किशोरीमैत्री विद्यालय निर्माणका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त हुँदैन, विद्यालयको समग्र वातावरण पनि संवेदनशील र सुरक्षित हुनुपर्छ । महिला शिक्षक तथा महिला नेतृत्वको उपस्थितिले छात्रीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै विद्यालय छाड्ने दर घटाउन समेत सहयोग पुग्ने उनीहरूको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिकाको यो पहलले अन्य स्थानीय तहलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ । विशेषगरी कन्या विद्यालयहरूको प्रभावकारी व्यवस्थापन, छात्रीहरूको सुरक्षा, महिला नेतृत्व प्रवर्द्धन तथा लैंगिक समानताको अभ्यासमा यो निर्णय नमूना बन्न सक्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।
शिक्षा क्षेत्रमा गरिएको यस्तो परिवर्तनले विद्यालय प्रशासनमा सुधार ल्याउने मात्र नभई समाजमा महिलाको भूमिका, नेतृत्व क्षमता र सहभागिताप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्नसमेत योगदान पुग्ने विश्वास गरिएको छ ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more