११ जेठ, काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ जेठ ११ गते बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ। उक्त आयोजना नेपाल–चीन ऊर्जा सहकार्यका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। सरकारले मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकेको छ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

















