११ जेठ, जनकपुरधाम । नेकपा (एमाले) का नेता उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा अरगरियाले आफू लामो समयदेखि एमालेमा सक्रिय रहँदै आए पनि आफूसँग आएका कार्यकर्ताहरूको समायोजन हुन नसकेको तथा उनीहरू अहिले पनि कमिटीविहीन अवस्थामा रहेको गुनासो गरेका छन्।
उनले पार्टीभित्र संगठन सुदृढीकरण हुनुपर्नेमा आधिकारिक उम्मेदवारलाई हराउने व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा उल्टै पुरस्कृत गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्।
अरगरियाले जिल्लाको नेतृत्वबाट पटक–पटक अपमानित हुनुपरेको, इमान्दार र लगनशील कार्यकर्ताहरू उपेक्षित भएको तथा पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने अवस्था देखिएको उल्लेख गरेका छन्।
यस्ता विषयमा पटक–पटक पार्टी केन्द्रलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको भन्दै उनले पार्टी छोड्ने निर्णय गरेको बताएका छन्।
















