८ जेठ, जनकपुरधाम। मधेश प्रदेश सरकारको सत्ता समीकरण औपचारिक रूपमा परिवर्तन हुने प्रक्रियासँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव ले सरकार पुनर्गठन सुरु गरेका छन् । नयाँ राजनीतिक समीकरणअनुसार उनले जसपा नेपालका तीन मन्त्रीलाई पदमुक्त गर्दै मोहम्मद समिर लाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्री समिरले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले सरकारमा सहभागी भएसँगै मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ समीकरण स्थापित भएको छ ।
सरकार पुनर्गठनअन्तर्गत जसपा नेपालबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र श्रम तथा यातायात मन्त्री मनिष सुमन लाई पदबाट हटाइएको हो ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार बदलिँदो सत्ता समीकरणका कारण उनीहरूलाई यसअघि नै राजीनामा दिन आग्रह गरिएको थियो । तर स्वेच्छिक रूपमा राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले संवैधानिक अधिकार प्रयोग गर्दै बर्खास्तीको निर्णय लिएका हुन् ।
मधेश प्रदेशमा पछिल्ला केही सातादेखि सत्ता समीकरण परिवर्तनको चर्चा तीव्र बनेको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेलाई सहभागी गराएर नयाँ गठबन्धन निर्माण गरिएको छ । यही रणनीतिअनुसार जसपा नेपाललाई सरकारबाट बाहिर निकालिएको हो ।
यता, जनमत पार्टीका मन्त्रीहरूले भने राजीनामा बुझाइसकेका छन् । जनमत पार्टीबाट सरकारमा सहभागी अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा ले पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री यादवकै निर्देशनपछि उनीहरूले राजीनामा बुझाएको बताइएको छ । जनमत पार्टीले गत वैशाख २१ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि उसका मन्त्रीहरू सरकारमै कायम थिए । समर्थन फिर्तापछि पनि सरकारमा सहभागी रहँदा राजनीतिक रूपमा प्रश्न उठिरहेको अवस्थामा अन्ततः उनीहरूले पद त्याग गरेका हुन् ।
मधेश प्रदेशको राजनीतिमा विकसित पछिल्लो घटनाक्रमलाई आगामी शक्ति परीक्षणसँग पनि जोडेर हेरिएको छ । नयाँ समीकरणअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा मुख्यमन्त्री यादवले आफ्नो सरकारलाई निरन्तरता दिने तयारी गरेका छन् ।
प्रदेशसभामा अंकगणितीय समीकरण बदलिँदै जाँदा मधेश सरकारको राजनीतिक दिशा पनि फेरिएको देखिएको छ ।
















