निःशुल्क छात्रवृत्ति आवेदन पुनः खुला, अवैध विद्यालयमाथि कारबाही गर्न उपसमिति गठन

७ जेठ, जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिका ले संस्थागत विद्यालयमा अध्ययनरत तथा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति आवेदन फाराम भर्ने सम्बन्धी पुनः सूचना जारी गरेको छ।
उपमहानगरपालिकाले यसअघि च.नं. ८६८२ मिति २०८३/०१/२१ को पत्रमार्फत वैशाख २१ देखि ३१ गतेसम्म आवेदन फाराम भर्ने तथा जेठ ३ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो। तर केही संस्थागत विद्यालयहरूले उक्त सूचनाअनुसार आवेदन फाराम नभरेको तथा प्रवेश परीक्षा समेत सञ्चालन नगरेको भन्दै जनगुनासो आएपछि पुनः प्रक्रिया अघि बढाइएको जनाइएको छ।
उपमहानगरपालिकाद्वारा जारी सूचनाअनुसार संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१ को दफा ४.३, ४.४, ४.६ तथा ५.१ बमोजिम छात्रवृत्ति कोटा निर्धारण गरिनेछ भने दफा ६.१ अनुसार आरक्षण व्यवस्था लागू गरिने उल्लेख गरिएको छ।
विद्यालय स्तरीय छात्रवृत्ति वितरण समितिमार्फत निःशुल्क छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरिने र विद्यार्थीहरूले आफू अध्ययन गरिरहेको वा अध्ययन गर्न चाहेको विद्यालयमै गएर आवेदन फाराम भर्नुपर्ने जनाइएको छ।
सूचनाअनुसार आवेदन फाराम भर्ने मिति जेठ ८ गतेदेखि १५ गतेसम्म तोकिएको छ भने छात्रवृत्ति प्रवेश परीक्षा जेठ १७ गते बिहान ८ बजेबाट सम्बन्धित विद्यालयमै सञ्चालन हुनेछ। नतिजा जेठ २० गते प्रकाशन गरिने जनाइएको छ।
यसैबीच निःशुल्क छात्रवृत्ति सम्बन्धी प्रवेश परीक्षा सञ्चालन नगर्ने तथा कार्यविधि कार्यान्वयन नगर्ने संस्थागत विद्यालयलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ।
त्यसैगरी अवैध रूपमा सञ्चालन भइरहेका विद्यालयहरूको अनुगमन तथा कारबाहीका लागि तीन सदस्यीय उपसमिति गठन गरिएको स्रोतले जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

    Read more