उत्पीडित समुदायको एकता दाबी गर्दै संघीय गणतान्त्रिक गठबन्धन ‘बस’ चुनाव चिन्हसहित मैदानमा

मंसिर १४, काठमाडौ ।  दलित, मुस्लिम, निषाद, थारु, मधेशी, आदिवासी जनजाति, महिला तथा अन्य उत्पीडित समुदायहरूको राजनीतिक एकता दाबी गर्दै गठन गरिएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनमा **“बस छाप”**लाई साझा चुनाव चिन्हका रूपमा प्रयोग गर्दै चुनावी मैदानमा जाने निर्णय गरेको छ।

गठबन्धनमा समावेश दलहरू— पूर्वगृह राज्यमन्त्री तथा संविधानसभा सदस्य मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी नेपाल, तथा धुपलाल प्रसाद सहनी निषाद नेतृत्वको नेपाल जनजागृति पार्टी— ले एकीकृत राजनीतिक मोर्चाका रूपमा सहकार्य गर्दै औपचारिक रूपमा निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्। गठबन्धनका नेताहरूले यसको प्रमुख उद्देश्य उत्पीडित जनताको राज्यसत्ता स्थापना, सुशासन, स्वदेशमै रोजगारको व्यवस्था, विकृतिको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणाली लागू, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, तथा समाजमा पछाडि पारिएका समुदायहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्दै राष्ट्रिय राजनीतिमा समावेशिता र संरचनागत परिवर्तन ल्याउनु रहेको बताएका छन्।

नेताहरूका अनुसार, दल दर्तासँगै सरकारले बेवास्ता गर्दै आएको श्रमजीवी, दलित, मुस्लिम, मधेशी तथा निषाद समुदायको आवाजलाई निर्वाचनमार्फत संसदसम्म पुर्‍याउने प्रतिबद्धतालाई संस्थागत रूप दिइएको छ। गठबन्धनले देशव्यापी संगठित अभियान सञ्चालन गर्दै नेपाली राजनीतिमा वैकल्पिक, समावेशी र सामाजिक न्यायकेन्द्रित राजनीतिक मार्ग प्रस्तुत गर्ने घोषणा समेत गरेको छ, जसले परम्परागत राजनीतिक शक्तिहरूबाट असन्तुष्ट समुदाय र वर्गलाई नयाँ विकल्प दिने प्रयासको रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more