आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालको लगातार दोस्रो जित

२१ जेठ, काठमाडौं । आरिफ शेखले ७८ रनको शानदार पारी खेलेपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो ।

नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए । यो उनको करियरकै उच्च स्कोर हो । स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रनगति बढाएका थिए ।

दिपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे । त्यसअघि आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए ।

६८-३ को अवस्थाबाट रोहितसँग मिलेर ५५ रनको साझेदारी गरेका आरिफले रोहित रनआउट भएपछि १२३ रनमा ४ विकेट गुमेको अवस्थाबाट दिपेन्द्रसिंह ऐरीसँग मिलेर ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको संघारमा पुर्‍याएर आउट भएका थिए ।

नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट तथा भिभियन किङमा र पल भान मिकेरनले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो । मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन बनाए । विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए ।

सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवार्ड्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

त्यसपछि १६६-७ को अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे ।

नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए ।

नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

सम्बन्धित समाचारहरु

इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

Read more

पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

Read more

Leave a Reply