भदौ २५, काठमाडौ । विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्याइरहेका सम्पूर्ण राष्ट्रवासीप्रति कृतज्ञता व्यक्त गर्दै नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू सम्बन्धमा विशेष अपिल जारी गरेको छ।
सेनाले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका लागि सबैलाई सहकार्य गर्न आह्वान गरेको छ। अपिलमा जनाइएअनुसार, अराजक तत्त्वहरुले आन्दोलनको नाममा व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कारका प्रयाससमेत गरिरहेको पृष्ठभूमिमा विद्यमान परिस्थितिलाई मध्यनजर राखी आज भदौ २५ गते बेलुकी ५ बजेसम्म निषेधाज्ञा निरन्तर रहने र त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजेसम्म देशभर कर्फ्यू आदेश लागू हुने उल्लेख गरिएको छ।
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधन (जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडी) सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता सेवामा संलग्न व्यक्तिहरूले सहजताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न आग्रह गरिएको छ।
नेपाली सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा हिंस्रक गतिविधिलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारवाही हुने चेतावनी दिएको छ। साथै, सम्पूर्ण अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ।
राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैले आ–आफ्नो दायित्व निरन्तर पूरा गर्ने सेनाले अपेक्षा राखेको छ। सेनाले जस्तोसुकै परिस्थितिमा पनि नेपालीको सुरक्षा, मानवीय उद्धार र शान्ति सुरक्षामा कटिबद्ध रहने स्पष्ट पारेको छ।

















