‘Gen Z’ आन्दोलनप्रति प्रहरीले दुःख प्रकट गर्दै संयमता अपनाउन आग्रह

भदौ २४, काठमाडौ । नेपाली प्रहरीले ‘Gen Z’ का युवाहरूको आह्वानमा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्पन्न दु:खद घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालले जारी गरेको प्रेस विज्ञप्तिमा सो घटनालाई असम्भावित र दुःखद भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “उक्त घटनामा प्रहरी र आम नेपाली दाजुभाइ, दिदीबहिनीको राष्ट्रिय सुरक्षा, राष्ट्रिय र आपराधिक गतिविधिका जोखिमका बाबजुद पनि जनजीवनको सुरक्षामा खटिएका प्रहरी परिवारप्रति समेत अपूरणीय क्षति पुगेकोले हामी सबैले गहिरो दु:ख महशुस गरेका छौं।”

प्रहरी प्रधान कार्यालयले घटनाबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै सामाजिक सद्भाव, शान्तिपूर्ण सहअस्तित्व र सहकार्यकै माध्यमबाट आन्दोलनका क्रममा देखिएका समस्याहरूलाई समाधान गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ। साथै, कुनै पनि परिस्थितिमा जनताको ज्यानमाल र सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने गरी अभिव्यक्ति दिन सबै पक्षलाई संयमता अपनाउन अपील गरिएको छ।

प्रहरीले यस घटनालाई पुनरावृत्ति हुन नदिन अनुसन्धान अघि बढाइने र दोषीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “कानुनी प्रावधानअनुसार दोषी पहिचान गरी आवश्यक अनुसन्धानमार्फत कानूनको शासन स्थापित गर्न नेपाल प्रहरी सधैं तत्पर रहनेछ।”

प्रहरीले आन्दोलनका क्रममा सामाजिक शान्ति, नागरिक-प्रहरी साझेदारी र आपसी विश्वासलाई नै समाधानको बाटो ठहर गर्दै सबैलाई संयमता र जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more