७ असोज , काठमाडौ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आकस्मिक बाढीको पूर्वानुमान अवधि विस्तार गर्दै अब ४८ घण्टाअगावै सम्भावित जोखिमबारे सूचना दिने व्यवस्था गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर विपद् पूर्वतयारी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको भोलिपल्ट केन्द्रले यस्तो व्यवस्था लागू गरेको हो।
केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार बुधबारदेखि प्रमुख नदीहरूको बाढी पूर्वानुमान अवधि ३ दिनबाट बढाएर ५ दिन तथा नेपालभरका स–साना नदीमा हुन सक्ने आकस्मिक बाढीको जोखिम पूर्वानुमान अवधि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याइएको छ।
केन्द्रले आफ्नै नेपाल–केन्द्रित बाढी पूर्वानुमान मोडेल तथा ईसीएमडब्लुएफको समष्टिगत पूर्वानुमानमा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न पूर्वानुमान मोडेलसँग एकीकृत गरी नयाँ प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।
दुईदिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, नदीको वर्तमान जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था लगायतका विभिन्न जलविज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिनेछ।
यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे समयमै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा उद्धार–प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रवक्ता भट्टराईका अनुसार केन्द्रले आगामी दिनमा स्थानविशेष र समयगत पूर्वानुमानको शुद्धता बढाउनुका साथै प्रभावमा आधारित पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजानेछ।

















