सामाजिक सुरक्षा भत्ता निकासाको माग गर्दै रास्वपा सुखीपुरद्वारा आन्दोलनको घोषणा

६ असोज , सुखीपुर, सिरहा । गत आर्थिक वर्ष २०८२/८३ को सामाजिक सुरक्षा भत्ताको अन्तिम किस्ता वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुखीपुर नगर समितिले आन्दोलनको घोषणा गरेको छ।

लक्षित वर्गका नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता कुनै व्यक्ति वा जनप्रतिनिधिको कृपा नभई राज्यको कानुनी तथा संवैधानिक दायित्व भएको रास्वपाले जनाएको छ। भत्ता वितरणमा भएको ढिलाइका कारण ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायत लक्षित वर्ग प्रभावित भएको पार्टीको भनाइ छ।

अन्तिम किस्ता फ्रिज भएको जानकारी पाएपछि रास्वपा सुखीपुरले तत्काल प्रक्रिया अघि बढाई भत्ता निकासाको व्यवस्था गर्न नगरपालिकासमक्ष ध्यानाकर्षणपत्र बुझाएको थियो। तर नगरप्रमुखबाट अपेक्षित पहल नभएको भन्दै नगर समितिले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको नगर सभापति रोशन यादवले जानकारी दिनुभयो।

सभापति यादवका अनुसार आन्दोलनको पहिलो चरणमा असोज १२ गते सुखीपुर नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ। धर्नापछि पनि समस्या समाधानका लागि आवश्यक पहल नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने उहाँले बताउनुभयो।

रास्वपाले सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरी लक्षित वर्गका नागरिकलाई वितरण गर्ने व्यवस्था मिलाउन सुखीपुर नगरपालिकासँग माग गरेको छ।

  • सम्बन्धित समाचारहरु

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, मौसम विभागले गरायो सतर्क

    Read more

    महमदपुरमा कांग्रेसको ‘अवैध रजिष्टर’ घुमाइएको भन्दै सक्रिय सदस्यको आपत्ति

    Read more