६ असोज, काठमाडौ । नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागको मनसुन विशेष मौसम बुलेटिन–३ (अपडेट) अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ।
त्यस्तै मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डीप डिप्रेसन (बलियो न्यून चापीय क्षेत्र) मा परिणत भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको छ। यसको प्रभावले बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने विभागले जनाएको छ।
सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिस फ्लो) को जोखिम रहन सक्ने विभागले चेतावनी दिएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्ने र दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले सम्भावित वर्षाका कारण प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई पूर्वतयारी अपनाउन र मौसमसम्बन्धी नियमित सूचना तथा पूर्वानुमान हेर्न अनुरोध गरेको छ।


















