४ असोज, काठमाडौ । मौसमविद् विनोद पोखरेलले आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गरेका छन्।
पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडलहरूको विश्लेषण गर्दा उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने सम्भावना देखिएको छ। केही मोडलले ७४१ मिलिमिटरसम्म वर्षाको सम्भावना देखाएको उनले बताएका छन्। यद्यपि यो पूर्वानुमान भएकाले वर्षाको वास्तविक मात्रा र प्रभाव स्थानअनुसार फरक पर्न सक्ने उनको भनाइ छ।
सम्भावित मौसम अवस्थाअनुसार असोज ८ गते मनसुनी रेखा सक्रिय भई कोशी, बागमती र गण्डकी प्रदेशका पूर्वी तथा मध्य भूभागमा बदली सुरु हुने तथा धेरैजसो स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
असोज ९ गते वर्षाको तीव्रता बढ्दै कोशी, बागमती र मधेश प्रदेशका तराई तथा पहाडी क्षेत्रमा लगातार मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ।
असोज १० गते सबैभन्दा बढी जोखिम हुनसक्ने दिनका रूपमा उल्लेख गरिएको छ। उक्त दिन बागमती प्रदेश, काठमाडौं उपत्यकासहित, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा अति भारी वर्षा हुनसक्ने सम्भावना औँल्याइएको छ।
त्यस्तै, असोज ११ गते पश्चिमी क्षेत्रमा मौसम बढी सक्रिय हुनसक्ने र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा वर्षाको प्रभाव बढ्नसक्ने बताइएको छ। पूर्वी तथा मध्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा जारी रहनसक्ने अनुमान छ।
असोज १२ गतेदेखि मौसम प्रणाली क्रमशः कमजोर हुँदै पश्चिमतर्फ सर्ने सम्भावना रहे पनि केही पहाडी क्षेत्रमा छिटफुटदेखि मध्यम वर्षा कायम रहनसक्ने जनाइएको छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढेर बाढीको जोखिम हुनसक्ने भएकाले यात्रा गर्दा तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद् पोखरेलले बताएका छन्।
उनले उक्त जानकारी डर फैलाउने उद्देश्यले नभई सम्भावित जोखिमप्रति समयमै तयारी र सचेतना अपनाउन सार्वजनिक गरिएको स्पष्ट पारेका छन्। मौसमको वास्तविक अवस्था बुझ्न जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।


















