जनकपुरधामको चार किल्ला क्षेत्र रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

२ असोज , जनकपुरधाम। नेपाल सरकारले जनकपुरधामको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले चार किल्लाभित्रको क्षेत्रलाई रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी उक्त क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो।

मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाद्वारा जारी सूचनाअनुसार संरक्षित क्षेत्रको चार किल्ला निम्नानुसार निर्धारण गरिएको छ।

* पूर्व: जनकपुर भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय हुँदै दक्षिण दिशातर्फ गएको सडक तथा परिक्रमा पथ।

* पश्चिम: भमरपुरा चोक हुँदै पश्चिमतर्फ गएको श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, हनुमान मन्दिर हुँदै उत्तर दिशातर्फ गएको परिक्रमा पथ।

* उत्तर: हनुमान मन्दिर, पिडारी चोक (राजा जनक स्मारक) हुँदै मधेस प्रदेश भवन, मिल्स एरिया र भानु चोकसम्मको परिक्रमा पथको सडक।

* दक्षिण: जनकपुरधामको मुर्ली चोक (विद्यापति स्मारक) हुँदै भमरपुरा चोकसम्म गएको परिक्रमा पथको सडक।

सरकारको यो निर्णयले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि तोकिएको क्षेत्रलाई औपचारिक कानुनी मान्यता दिएको छ। संरक्षित स्मारक क्षेत्रसम्बन्धी सूचना नेपाल राजपत्रको खण्ड ७६, संख्या ३४ मा प्रकाशित भएको हो।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more