७ असोज , जनकपुरधाम। मधेश प्रदेश सरकारले नेपाल प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन ३५ थान १२५ सीसी सुपर स्प्लेन्डर मोटरसाइकल प्रदान गरेको छ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले उपलब्ध गराएका मोटरसाइकलको साँचो सम्बन्धित जिल्लाका प्रहरी उपरीक्षकहरूलाई हस्तान्तरण गरिएको हो।
मोटरसाइकल हस्तान्तरण गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जनताको जीउधनको सुरक्षा, भन्सार छली तथा चोरी नियन्त्रण, अपराध नियन्त्रण र विपद्का समयमा उद्धार तथा राहतका कार्यमा मोटरसाइकल उपयोगी हुने बताउनुभयो।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराउँदै आएको साधन–स्रोतको अधिकतम सदुपयोग गरी शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरिने बताउनुभयो।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विन्देश्वरप्रसाद लेखकसहित मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।
मन्त्रालयका अनुसार बिहीबार सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, अपराध नियन्त्रण तथा भन्सार छली नियन्त्रणका लागि थप २० थान मोटरसाइकल प्रदान गरिनेछ।
यसअघि पनि मधेश प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका प्रहरीलाई प्रहरी भ्यान, सीसीटीभी तथा विभिन्न सञ्चार उपकरणलगायतका साधन–स्रोत उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।

















